काठमाडौं । पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा आएपछि रुग्ण अवस्थामा रहेका परियोजनाको प्रगतिलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार निर्माणमा ढिलाइ भएका आयोजनाको सूक्ष्म अध्ययन गरी आवश्यक सहजीकरणको नीति लिएपछि पछिल्लो समय त्यसको परिणाम देखिन थालेको हो।
यसैक्रममा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित भकुण्डे–माच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडक निर्माणले पछिल्लो ६ महिनामा उल्लेख्य गति लिएको छ। २०७९ सालमा ठेक्का लागे पनि लामो समयसम्म निर्माणले अपेक्षित गति लिन सकेको थिएन।
गत वैशाखसम्म उक्त सडकको भौतिक प्रगति ८ प्रतिशत मात्रै रहेकोमा असोजको मध्यसम्म आइपुग्दा ५० प्रतिशतभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको पहल र आवश्यक सहजीकरणपछि निर्माणले गति लिएको उल्लेख गर्दै यो वर्षभित्रै उक्त सडक खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताइएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लाम्सालले मन्त्रालयअन्तर्गत रुग्ण अवस्थामा रहेका परियोजनाको पहिचान गरी तिनको प्रगति बढाउने कामलाई प्राथमिकतामा राखिएको बताएका छन्।








