काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ। सोमबार महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय कार्यसमिति बैठकले नयाँ संरचनाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या टुंगो लगाएको हो।
निर्णयअनुसार कांग्रेसमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति तीन, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ सदस्यीय पदाधिकारी रहनेछन्। त्यसबाहेक एक जना प्रवक्ता रहने व्यवस्था गरिएको छ।
हाल कांग्रेसको विधानमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था छ। नयाँ संरचनामा दुवै पदको संख्या बढाइएको हो। यस्तै, हाल आठ जना रहेको सहमहामन्त्रीको संख्या बढाएर १५ पुर्याइएको छ। त्यसमा चार जना महिला मनोनीत हुने व्यवस्था प्रस्ताव गरिएको छ।
पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गएपछि व्यवस्थापन तथा आन्तरिक भागबण्डा मिलाउन पदाधिकारीको संख्या बढाइएको कांग्रेसका एक नेताले बताएका छन्।
बैठकले कांग्रेसको केन्द्रीय समिति २३२ सदस्यीय बनाउने निर्णयसमेत गरेको छ। त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना मनोनीत हुनेछन्।
निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमा खुलातर्फ ४५, महिलातर्फ १२, प्रदेशतर्फ २८, दलिततर्फ १२, आदिवासी जनजातितर्फ १७ र खसआर्यतर्फ १५ जना रहनेछन्। मधेसीतर्फ ११, थारुतर्फ पाँच, मुस्लिमतर्फ तीन, पिछडिएको क्षेत्रतर्फ दुई तथा अल्पसंख्यक र अपांगता भएका व्यक्तिबाट एक–एक जना निर्वाचित हुने व्यवस्था गरिएको छ।
त्यस्तै श्रमिकतर्फ तीन, पेशागततर्फ सात र युवा (प्रदेश) तर्फ २१ जना निर्वाचित हुनेछन्। प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित र सहिद परिवारबाट तीन जना चयन हुनेछन्।
केन्द्रीय समिति र पदाधिकारीको नयाँ संरचना महाधिवेशनको बन्दसत्रबाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा आउनेछ।








