काठमाडौँ । रसुवा–भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिकालाई राखिएको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ।
आफन्तबाट टाढा राखिएको भन्दै बालबालिका तथा आफन्तबाट निरन्तर आवाज उठेपछि महिला, बालबालिका, लैङ्गिक तथा अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा उत्तरगया गाउँपालिकाको समन्वयमा बालबालिकाको विस्तृत लेखाजोखा गरी अधिकांशलाई आफन्त तथा नातेदारको संरक्षणमा पठाइएको हो।
राष्ट्रिय बाल अधिकार परिषद्बाट खटिएका अधिकृत बद्रीप्रसाद वाग्लेका अनुसार बालबालिका र उनीहरूलाई संरक्षणमा लिन चाहने परिवारको मनोसामाजिक लेखाजोखा तथा उत्तरगया गाउँपालिका–१ को वडा कार्यालयबाट नाता प्रमाणित कागजातका आधारमा २३ जना बालबालिकालाई आफन्त तथा नातेदारको जिम्मा लगाइएको हो।
बालबालिकालाई जिम्मा लगाउने क्रममा अभिभावक तथा संरक्षकबाट स्वघोषणा फाराममा हस्ताक्षर गराई बाल संरक्षणसम्बन्धी प्रतिबद्धतासमेत लिइएको छ। उनीहरूले बालबालिकाको चल–अचल सम्पत्तिको संरक्षण गर्ने, सुरक्षित पारिवारिक वातावरणमा हेरचाह गर्ने, बालविवाह हुन नदिने, जोखिमपूर्ण वा अनुचित बालश्रममा नलगाउने तथा कुनै पनि प्रकारको हिंसा, शोषण र दुर्व्यवहार हुन नदिने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी बालबालिकाको विद्यालय शिक्षा तथा शैक्षिक निरन्तरता सुनिश्चित गर्ने, व्यक्तिगत विवरणको गोपनीयता कायम गर्ने र विभेदरहित, सम्मानजनक तथा सुरक्षित वातावरण उपलब्ध गराउने प्रतिबद्धतासमेत अभिभावकबाट लिइएको छ।
समाजसेवी तथा बालमनोविज्ञबाट गरिएको लेखाजोखाका क्रममा अधिकांश बालबालिकालाई आफन्त तथा नातेदारले आफ्नै साथमा राख्न चाहेको पाइएको वाग्लेले बताए। परिवार पुनर्मिलन कार्यक्रममा आफन्तको संरक्षणमा जान पाउँदा बालबालिका र उनीहरूलाई संरक्षणको जिम्मेवारी लिन पाएका आफन्त दुवै खुशी देखिएका थिए।
होल्डिङ सेन्टरमा रहेका २६ बालबालिकामध्ये एक जना काठमाडौँमा उपचाररत छन् भने २३ जनालाई आफन्त तथा नातेदारसँग पुनर्मिलन गराइएको छ। दुई जना बालबालिकालाई राष्ट्रिय बाल अधिकार परिषद्मार्फत उद्धार गरी वैकल्पिक हेरचाहमा राखिएको परिषद्ले जनाएको छ।
उत्तरगया गाउँपालिकाकी बाल कल्याण अधिकारी अमृता पन्तले बालबालिकाको इच्छा र चाहनालाई समेत सम्मान गर्दै उनीहरूको सर्वोत्तम हितलाई केन्द्रमा राखेर निर्णय गरिएको बताइन्।
बालबालिकाका जैविक आमाबुवाको घेवा संस्कार असोज २९ गतेसम्म चल्ने भएकाले केही थप बालबालिकालाई परिषद्मार्फत वैकल्पिक हेरचाहमा पठाउनुपर्ने अवस्था देखिएको बाल संरक्षण अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए।
होल्डिङ सेन्टरमा रहेकी एक बालिकाले आफूलाई आमाबुवाको घेवा संस्कारमा सहभागी हुन प्रहरीले लैजाने र पुनः प्रहरीले नै गाडीमा राखेर होल्डिङ सेन्टरमा ल्याउँदा अपराधीझैँ महसुस भएको बताएकी थिइन्। परिवार पुनर्मिलनपछि भने उनको मुहारमा खुशी देखिएको परिषद्ले जनाएको छ।
दीर्घकालीन स्याहार योजनामा समावेश
बाढीका कारण आमाबुवा गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई सरकारले सञ्चालनमा ल्याएको ‘विपद् प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना’ मा समावेश गरिएको छ।
उत्तरगया गाउँपालिकाको उपाध्यक्ष चमेली गुरुङको संयोजकत्वमा स्थानीय बाल अधिकार समितिको असोज १५ गते बसेको बैठकको निर्णयअनुसार आफन्त तथा नातेदारले आफ्नै साथमा राखी पालनपोषण, शिक्षा तथा संरक्षणको जिम्मेवारी लिएका बालबालिकालाई समेत उक्त योजनामा समावेश गरिएको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ।
योजनाले १८ वर्ष उमेर पूरा नगरेसम्म बालबालिकाको संरक्षण, परिवारमा आधारित हेरचाह, शैक्षिक निरन्तरता, स्वास्थ्य तथा पोषण, मनोसामाजिक सहयोग तथा दीर्घकालीन पुनःएकीकरणमा सहयोग गर्ने उद्देश्य राखेको छ।
आफन्तकै संरक्षणमा रहे पनि योजनामा समावेश बालबालिकाको संरक्षण र अवस्थाको जिम्मेवारी राज्यको रहनेछ। उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्नुपरे उत्तरगया गाउँपालिकाका बाल कल्याण अधिकारीको सिफारिस र राष्ट्रिय बाल अधिकार परिषद्को सहमति लिनुपर्ने व्यवस्था गरिएको छ।
मन्त्री वादीको सचिवालयको पहलपछि परिवार पुनर्मिलन
आमाबुवा गुमाएका बालबालिका आफन्तकै संरक्षणमा बस्न चाहेको र आमाबुवाको मृत्यु संस्कारमा समेत सहभागी हुन नपाई परिवारबाट अलग रहनुपरेको विषयमा मन्त्री सीता वादीको सचिवालयमा जानकारी पुगेपछि सचिवालयको सक्रियतामा राष्ट्रिय बाल अधिकार परिषद्को टोलीले बालबालिकाको लेखाजोखा तथा परिवार पुनर्मिलन प्रक्रिया अघि बढाएको थियो।
बालबालिकाको सर्वोत्तम हित, उनीहरूको इच्छा तथा पारिवारिक वातावरणलाई प्राथमिकता दिँदै पुनर्मिलन प्रक्रिया सम्पन्न गरिएको परिषद्ले जनाएको छ। आगामी दिनमा परिषद्ले उत्तरगया गाउँपालिकासँगको समन्वयमा बालबालिकाको संरक्षण, अवस्था र दीर्घकालीन स्याहार योजनाको कार्यान्वयनबारे नियमित अनुगमन गर्नेछ।
परिवार पुनर्मिलन कार्यक्रम विदुर नगरपालिका–२ का वडाध्यक्ष दीपक कायस्थ र उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मारसिङ तामाङको रोहबरमा सम्पन्न भएको हो।
परिषद्मार्फत काठमाडौँ ल्याइएका दुई बालबालिकालाई ललितपुरको ठेचोस्थित परिषद्को अस्थायी संरक्षण केन्द्रमा राखिएको छ। हाल उक्त केन्द्रमा १७ जना बालबालिका संरक्षित रहेको परिषद्ले जनाएको छ।








