काठमाडौं । प्रधान सेनापति महारथी अशोक राज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत प्रस्थान गर्नुभएको छ।
बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधान सेनापति सिग्देल २०८३ असोज १९ देखि २५ गतेसम्म (५ देखि ११ अक्टोबर २०२६) बेलायतको औपचारिक भ्रमणमा जानुभएको नेपाली सेनाले जनाएको छ।
भ्रमणका क्रममा नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहँदै आएको आपसी सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास नेपाली सेनाले लिएको छ। सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत भ्रमणले योगदान पुग्ने सेनाको भनाइ छ।
प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गर्नुभएको थियो।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुनेछ।








