१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा News Polar कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय News Polar एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास News Polar गगनको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत अनुमोदन News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम News Polar सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल News Polar आफन्तको संरक्षणमा फर्किए रसुवा बाढीमा आमाबुवा गुमाएका २३ बालबालिका News Polar प्रधान सेनापति अशोक राज सिग्देल बेलायत प्रस्थान News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा News Polar फिर्के खोला अतिक्रमण हटाउने अभियान तीव्र, २६ पक्की संरचनामा चल्यो डोजर

चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल
अ अ+ अ-

काठमाडौँ। चाडपर्व नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायतका विभिन्न खुला बजारमा किनमेल गर्नेको चाप बढेको छ ।

दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकका कारण यहाँका खुला बजारमा ग्राहकको चहलपहल अन्य समयको तुलनामा एकाएक बढेको हो । दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढेपछि भृकुटीमण्डपका व्यापारी व्यस्त देखिएका छन् ।

दसैँका लागि किनमेल गर्ने मुख्य समय सुरु भएसँगै ग्राहकको चाप बढेको भृकुटीमण्डपस्थित खुला बजारका व्यापारी अशोक खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन बढ्न थालेको छ । विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य बढेको उहाँले बताउनुभयो । “दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आज बिहानदेखि नै बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ”, खतिवडाले भन्नुभयो ।

दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले पनि चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको अर्का व्यापारी श्यामप्रकाश अधिकारीले बताउनुभयो । उहाँका अनुसार ग्राहकको चाप बढेसँगै व्यापारीलाई सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गरेको छ । “अन्य दिनको तुलनामा आजदेखि ग्राहकको चाप बढेको छ । दसैँ नजिकिँदै जाँदा अझै ग्राहक बढ्ने अपेक्षा गरेका छौँ”, अधिकारीले भन्नुभयो ।

भृकुटीमण्डपमा दसैँका लागि आवश्यक कपडादेखि जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको उपस्थिति बढेको छ । एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुने तथा ग्राहकले आफ्नो बजेटअनुसार सामान छनोट गर्न सक्ने भएकाले खुला बजारमा किनमेल गर्नेको सङ्ख्या बढेको व्यापारीहरूको भनाइ छ । चाडपर्वको समयमा सीमित आम्दानी भएका परिवारका लागि सस्तो बजार रोजाइमा पर्ने गरेको व्यापारी बताउँछन् ।

काठमाडौँ उपत्यकाका विभिन्न खुला बजार तथा सडक किनारका रात्रिकालीन पसलमा सपिङ मल तथा ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगाकपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको आकर्षण रहने उनीहरूको भनाइ छ ।

सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा लुगाकपडा बिक्री गर्दै आउनुभएकी सङ्गीता न्यौपानेले पनि दसैँ नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताउनुभयो । उहाँका अनुसार चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्य र गुणस्तर दुवैलाई ध्यान दिने गरेका छन् ।

“सपिङ मलभन्दा सडकपेटीका पसल र खुला बजारमा लुगाकपडासहितका सरसामान केही सस्तो पाइन्छ । त्यसैले पनि ग्राहकको पहिलो रोजाइ खुला बजार र सडकपेटीका रात्रिकालीन पसल हुने गरेका छन्”, न्यौपानेले भन्नुभयो ।

दसैँसँगै मौसममा समेत क्रमिक परिवर्तन आउन थालेकाले चिसो मौसमका लागि आवश्यक लुगाकपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन् । विशेषगरी ज्याकेट, स्वीटर, ट्रयाकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या पनि बढ्दै गएको व्यापारी हरिकृष्ण कँडेलले बताउनुभयो ।

दसैँलगायतका चाडपर्व नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्युरोड, सुन्धारा, नयाँसडकलगायतका बजारमा ग्राहकको चाप थप बढ्ने व्यवसायीको अपेक्षा छ ।

व्यापारीले दसैँलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन् । ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरू बताउँछन् । ग्राहकले आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गर्ने गरेका छन् ।

दसैँ नजिकिँदै जाँदा बजारमा देखिएको चहलपहलले व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको अपेक्षा छ । दसैँको किनमेलको समय अझै बाँकी रहेकाले आगामी दिनमा ग्राहकको चाप थप बढ्ने र व्यापारसमेत बढ्ने व्यवासायीहरूको विश्वास छ । रासस