काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता सुवेदीले सरकार लोकतन्त्र र संविधानको रक्षा गर्नुको साटो ‘विजयको उन्माद’मा रमाएको आरोप लगाउनुभयो । प्रश्न गर्ने नागरिकलाई होच्याउने र सरकारप्रति असहमति राख्नेहरूलाई अपमान गर्ने प्रवृत्ति देखिएको उहाँको भनाइ थियो ।

सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा अमानवीय र जनविरोधी काम गरिरहेको उहाँले दाबी गर्नुभयो । बेपत्ता व्यक्तिको खोजीमा रहेकी महिलामाथि दुर्व्यवहार, अस्पतालको गेटमै सुत्केरी हुनुपर्ने अवस्था तथा बालबालिकामाथि भएका हिंसात्मक घटनामा सरकार संवेदनशील नबनेको उहाँले बताउनुभयो ।
सरकार र प्रधानमन्त्रीको निर्माण प्रक्रियामाथि समेत प्रश्न उठाउँदै सुवेदीले वर्तमान नेतृत्व नकारात्मकताको प्रचारबाट स्थापित भएको टिप्पणी गर्नुभयो । जनताले विश्वास गरेर मत दिए पनि अहिले प्रश्न गर्ने नागरिकलाई ‘झोले’ वा ‘मूर्ख’ भन्ने शैली अपनाइएको उहाँको आरोप थियो ।
सुवेदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बालुवाटार बोलाएर नियन्त्रणमा राखिएको भन्दै संवैधानिक निकायको मर्यादा मिचिएको आरोपसमेत लगाउनुभयो ।
उहाँले पछिल्ला ३५ वर्षमा भएका राजनीतिक परिवर्तनका उपलब्धिलाई सरकारले ओझेलमा पार्न खोजेको बताउनुभयो । लोडसेडिङ अन्त्य, सडक सञ्जाल विस्तार तथा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासजस्ता उपलब्धिलाई सरकारले बेवास्ता गरेको उहाँको भनाइ थियो ।







