१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान

बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान
अ अ+ अ-

काठमाडौँ, १६ असोज : ‘बाँचे देशकै सेवा गर्छु, मरे देशकै लागि मर्छु ।’

देशको सेवाका लागि नेपाली सेनामा भर्ती हुँदा लिएको यही शपथ अभिषेक शाहीले त्यतिबेला पनि बिर्सिनुभएको थिएन, जतिबेला रसुवा भोटेकोशी बाढीको भेलमा छिरेर खोज तथा उद्धारमा तल्लीन हुनुपरेको थियो ।

गएको भदौ १० गते भोटेकोशी र त्यसपछि त्रिशूली नदीको बाटो हुँदै विनाशकारी बाढीले बितण्डा मच्चायो । त्यही दिनदेखि खोज तथा उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य टिम अझै पनि बाढी प्रभावित क्षेत्रमा खटिरहेका छन् । महिना दिन नाघिसक्यो । कतै बाढीको भेलले हुत्ताएर, कतै हाइड्रोको टनेलमा फसेर, कतै जीवनको भीक माग्दै भाग्दा भाग्दै पहरामा छलिएर हराउनेहरू बाँचेका छन् कि भन्ने आशाका दियो अब लगभग निभिसकेको छ ।

जीवन नभेटिए पनि अब कतै लास भेटिन्छ कि भनेर खोज्ने टिममा सक्रिय हुनुहुन्छ तिनै नेपाली सेनाका जवानमध्येका हुनुहुन्छ अभिषेक । नदी उर्लिएर बस्ती पसेको बाढीले हेर्दाहेर्दै छिनभरमै सुन्दर बस्तीलाई बगर बनाएको त्यो कहालीलाग्दो क्षण सम्झँदा अहिले पनि मन भारी हुन्छ अभिषेकको । त्योभन्दा बढी कैयौँ सुन्दर जीवन चुँडेर लगेको क्षणले मन भक्कानिन्छ जो कोहीको । बस्तीको सुन्दरता फर्किएला तर ती चुँडिएका जीवन कहिल्यै फर्कने छैनन् अब ।

भोटेकोशी बाढी गएको दिन चारैतिर पानी, लेदो र गेग्रानले भरिएको थियो । ‘मेरो आफन्त हराइरहेको छ, छिटो खोजिदिनुस्’ भन्ने दबाब बढिरहेको थियो । जतासुकै रुवावासी चलिरहेको थियो । जोखिम भने टरेकै थिएन । त्यसपछिको जोखिम फेरि कति ठूलो छ भन्ने अनुमान गर्न कठिन थियो । तर अभिषेकसहितको टिमको पाइला रोकिएन । आफ्नो जीवन कसरी जोगाउने ? भन्ने पीरभन्दा बढी अभिषेकलाई अरूको जीवन कसरी जोगाउने ? भन्ने पीरले सताएको थियो ।

“हामीलाई आफ्नो ज्यानको माया गरेर बसिरहने छुट थिएन । त्यसबेला सेकेन्ड–सेकेन्डको अत्यन्त महत्व थियो । केही सेकेन्डकै कारण कसैको ज्यान जोगिन्थ्यो त केही सेकेन्ड ढिला गरेकै कारण कसैको ज्यान जान सक्थ्यो । हामीलाई त कसरी अरूको ज्यान जोगाउन सकिएला भन्ने मात्रै चिन्ता थियो, त्यसबेला,” अभिषेक सम्झनुहुन्छ । यही अदम्य साहस जुटाएर उहाँसहितको टोली तत्काल प्रभावित क्षेत्रमा खटिएर खोज तथा उद्धारमा अग्रसर हुनुभयो । त्यस दिन नदीको बहाव बढिरहेको थियो । लेदो र गेग्रानले हिँडडुल गर्नसमेत निकै कठिन भइरहेको थियो । कतै हिँड्दा गडेका खुट्टा निकाल्नसमेत निकै गाह्रो हुन्थ्यो ।

जल विज्ञान तथा अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा बाढी आएकै स्थानमा पुनः अर्को ताल पनि बनेको र जुनसुकै समयमा फुट्न सक्ने तथा जोखिम यथावत् रहेकोले सुरक्षित हुन भन्दै पूर्वसूचना जारी गरिरहेको थियो । त्यो सूचना अभिषेक र उहाँको टिमले नपाएको होइन तर ज्यानै जोखिममा राखेर मुलुकको सेवा गर्छु भन्दै लिएको शपथले उहाँलगायतका उद्धार टिमलाई डराएर बस्ने छुट दिएको थिएन । “कतिबेला अर्को भेल आउँछ भन्ने निश्चित थिएन तर पनि डर लागेन । मर्नै परे पनि डर नमान्ने मानसिकताले हामीलाई साहस दिने रहेछ,” अभिषेक भन्नुहुन्छ, “त्यस क्षेत्रमा मोबाइल नेटवर्कले काम नगरेको समयमा हामीलाई ह्यान्डहेल्ड रेडियो सेटबाट जोखिमसम्बन्धी सूचना भने आइरहन्थ्यो ।”

भोटेकोशीमा बाढीको जोखिम बढ्दै छ, तपाईंहरू सुरक्षित स्थानतर्फ बस्नुहोस् भन्ने सूचना दिएर अभिषेकहरू भने त्यही असुरक्षित स्थानतर्फ जानुपर्ने हुन्थ्यो । ज्यानकै जोखिम मोलेर अरूलाई खोज्न निस्किनुभएका अभिषेकको जिम्मेवारी थियो ः जहाँ जीवनको सम्भावना छ, त्यहाँ पुग्ने । पहिलो दिनको अवस्था सम्झँदा दर्दनाक लाग्छ उहाँलाई अझै । “बाढीपछि जलविद्युत् आयोजनामा मानिस फसेका छन् कि भनेर उद्धार जतिसक्दो छिटो गर्नुपर्ने थियो तर टनेलमा लेदो यति बाक्लो थियो कि अगाडि बढ्नै सकिँदैनथ्यो । त्यहाँभित्र पानीको सतह कम भएको थिएन । गेग्रानले बाटो चिनिँदैनथ्यो,” उहाँ भन्नुहुन्छ, “उद्धारका लागि अघि बढ्नुअघि जोखिमको अवस्था बुझ्नुपर्ने थियो । तीन दिनसम्म पानी निकाल्ने र बाटो खुलाउने काम गरेपछि मात्रै कतिपय स्थानमा प्रवेश गर्न सम्भव भयो ।”

टनेलमा छिरेपछि यदि जोखिम बढेको अवस्था आएमा हाते रेडियो सेट (वाकी–टकी) नै उहाँहरूको सबैभन्दा भरपर्दो साथी बन्थ्यो । कुनै समस्या आए तत्काल सूचना पुग्थ्यो । तर त्यसअघि नै सम्भावित जोखिमको आँकलन गरेर उद्धार टोलीले कदम चाल्थ्यो । यही अदम्य साहस बोकेर उद्धारमा खटिने अभिषेक एक्लै हुनुहुन्थेन । उद्धारमा खटिने टोलीका प्रत्येक सदस्यले आफ्नो ज्यानभन्दा बढी प्राथमिकता अरूको जीवनलाई राखेका थिए । अर्का जवान दीपक राईका लागि पनि भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिनुपर्ने त्यो समय सजिलो थिएन । भोक, तिर्खा अनि थकाइ र डर लाग्यो भन्ने छुट राई र अन्य टिमका सदस्यलाई थिएन । जलविद्युत् आयोजनाका गेग्रानले भरिएको अँध्यारो टनेल । त्यही अँध्यारो टनेलमा टर्चलाइटको सहाराले जीवन बाँकी रहेकाको ज्यान र जीवन सकिएकाको लास खोज्न निस्कँदा राईजस्ता अन्य उद्धार टिमका सदस्यलाई सहज पक्कै थिएन ।

कति लास त सडिसकेका हुन्थे । हात समात्दा हातै आउने, खुट्टा समाते खुट्टा नै लासको अंगबाट छुटिएर आउने गरेको उहाँ सुनाउनुहुन्छ । सडिरहेका लासको दुर्गन्धले पेट बटारिएर वान्ता आउँथ्यो । भोक र प्यास मेटाउन त्यहाँभित्र केही खान सक्ने अवस्था नै हुँदैनथ्यो । तर पनि आफ्ना ती बाधालाई प्रवाह नगरी टनेलमा जीवन खोज्न हिँड्ने टोलीले समयमा नै नखोजिदिएको भन्ने आरोपहरू आइरहन्थे । उहाँहरूलाई ती आरोप सामान्य नै लाग्थ्यो । प्रियजन फर्किएलान् कि भन्ने आशामा छटपटिएका आफन्त आवेगमा आउनु स्वाभाविक नै हो झैँ लाग्छ उहाँहरूलाई ।

तालिम र अभ्यासले दिएको साहस

विपद्सम्बन्धी तालिम र अभ्यास नभएको भए यो किसिमको अदम्य साहस नआउने बताउनुहुन्छ दीपक । “विपद्मा काम गर्न आवश्यक तालिम र अभ्यासले कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी बहन गर्न सिकाउने रहेछ, हामीले विपद्सम्बन्धी तालिम लिएका थियौँ र सहज भयो,” उहाँ भन्नुहुन्छ, “तालिमले सीप दिएको थियो । पर्याप्त रहेका उपकरणले साथ दिएको थियो ।” तर त्यससँगै उहाँहरूलाई आफ्नो कर्तव्यबोधले ठूलो शक्ति दिलाएको थियो । “हामीलाई मोटिभेसनले काम गर्छ,” दीपक भन्नुहुन्छ, “त्यसबेला हामीले जति ढिला गर्छौँ, बाँचिरहेका मानिस पनि मर्न सक्छन् भन्ने कुरा मात्रै दिमागमा आउने रहेछ ।”

सायद त्यही अभिप्रेरणाले गर्दा पनि होला, बाढी, लेदो, गेग्रान र अन्य कठिनाइ थिचोल्दै आफ्नो कर्तव्य पालनामा टोली नचुकेको । अभिषेक र दीपकलाई जस्तै जस्तोसुकै परिस्थिति आए पनि सामना गर्छु भन्ने अठोट पलाएको थियो, प्रमोद केसीलाई पनि । “बाढीपछिका सुरुआती चार दिन भने सबैभन्दा चुनौतीपूर्ण बनेको थियो । टनेलभित्र कतिपय स्थानमा लेदो सात फिटसम्म जमेको थियो । सडक र पुल बगेका थिए । पैदल हिँड्नसमेत कठिन अवस्थामा हराएकाहरूको खोजी गर्नुपर्ने थियो । घाइतेको उद्धार गर्नुपर्ने थियो । आफैँ जोखिममा पर्न सक्ने अवस्था भए पनि जोखिममा परेकालाई जोगाउनु हाम्रो कर्तव्य थियो”, उहाँ भन्नुहुन्छ ।

मुलुकको हरेक विपद्मा खटिएको सैनिकका लागि यी जोखिम नयाँ भने थिएनन् । त्यसबेला कतिपय आफन्तजनले फेरि कुनै जोखिम हुन्छ कि भन्ने चिन्ता जनाउँथे । तर कैयौँ बाढीको भेलपछि हराएका आफ्ना प्रियजन खोजेर बुझाउन पाए नै सबैभन्दा ठूलो सफलता हुन्थ्यो लाग्यो । उद्धार गर्न सफल भएको क्षणमा टोली सदस्यहरू पनि खुसी हुन्थे । नेपाली सैनिक टोलीका अन्य सदस्य सुजित जोशी, ज्ञानेन्द्र डाँगी, महेश कार्की, सुरेन्द्रकुमार रोकाय, इन्द्रबहादुर गुरुङ, दिनेश तामाङ, नारायण शर्माले पनि आफूले सेनामा भर्ती हुँदा खाएको शपथलाई सम्झँदै अहिलेसम्म पनि खोजी कार्यमा तल्लीन रहेका छन् । सम्भव भएसम्म जीवन जोगाउने अभियानमा लाग्दालाग्दै सफल नभएको त्यो क्षणले भने सबैको मन भारी बनाइरहेको छ ।

देशका लागि ज्यान दिने कसम खाएर सेनामा प्रवेश गरेका यी सैनिक जवानका लागि विपद्को मैदान पनि सेवाकै अर्को मोर्चा थियो । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजमा खटिँदा मनमनै त्यही शपथ दोहो¥याए ः आफ्नो ज्यान जोखिममा राखेर भए पनि अरूको जीवन जोगाउनेछौँ ।

जीवन खोज्दै टनेलभित्र…

भोटेकोशीमा बाढी आएपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र हराएका मानिसको खोजी सुरु भयो । सुरुङभित्र पस्नु उद्धार टोलीका लागि जोखिमपूर्ण थियो । नेपाली सेनाका सहायक रथी सुवासजङ्ग थापाले उद्धार टोलीले अदम्य साहसका साथ काम गरेको बताउनुभयो । “कतिपय हाम्रा उद्धार टोलीका सदस्यलाई ज्वरो आउने, छाला चिलाउने, वान्ता आउनेलगायतका स्वास्थ्य समस्या पनि देखियो । यो लगायत अन्य जोखिमको बाबजुत पनि खोजी तथा उद्धारमा खटिए,” उहाँले भन्नुभयो, “जोखिम मोलेरै भए पनि अरुको सुरक्षा गर्नु हाम्रो दायित्व थियो ।”

लाङटाङ जलविद्युत् आयोजनामा सेनाले बाढी आएको दिन भदौ १० गते नै हेलिकप्टरबाट रेकी गरेको थियो । आयोजनाको सुरुङमा भदौ १३ गतेदेखि भारतीय विज्ञ टोलीसँगको सहकार्यमा खोज तथा उद्धार सुरु गरिएको थापाले जानकारी दिनुभयो । चिलिमे जलविद्युत् आयोजनामा पनि सेनाले भदौ १० गते नै रेकी गरेको थियो । भारतीय विज्ञ टोलीको सहभागितामा भदौ १४ गतेदेखि त्यहाँ खोज तथा उद्धार सुरू भएको उहाँको भनाइ छ ।
“माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि भदौ १० गते नै रेकी गरिएको थियो । चिनियाँ विज्ञ टोलीको सहभागितामा भदौ १४ गतेदेखि खोज तथा उद्धार सुरु भयो । ११औँ दिनको प्रयासपछि एक चिनियाँ नागरिकको जीवितै उद्धार गरियो,” सहायक रथी थापाले भन्नुभयो, “त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढी आएको १०औँ दिनमा दुई कर्मचारीको जीवितै उद्धार भयो । लामो प्रयासपछि दुई जनालाई जीवितै बाहिर निकाल्न सकिएको त्यो क्षण उद्धार टोलीका लागि खुसीको थियो । एकदमै खुसी महसुस भयो ।”

उहाँका अनुसार भोटेकोशीको बाढीपछि नेपाली सेनाले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धारलाई निरन्तरता दियो । त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायतका क्षेत्रमा आधार बनाएर टोली परिचालन गरिएको सहायक रथी थाापाले बताउनुभयो । सडक सम्पर्क टुटेका ठाउँमा भने जमिनबाट पुग्न सम्भव थिएन । त्यहाँ ड्रोन उद्धारको अर्को माध्यम बन्यो । दुर्गम बस्तीमा अत्यावश्यक खाद्यान्न तथा राहत सामग्री पु¥याउन नेपाली सेनाले ड्रोन प्रयोग गरेको उहाँले जानकारी दिनुभयो । नेपाली सेनाका हवाई साधनमार्फत प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म चार हजार २४२ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धार गरिएकामध्ये तीन हजार ९५९ नेपाली र २८३ विदेशी नागरिक छन् । भोटेकोशीको बाढीले रसुवादेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्व र पश्चिमसम्म प्रभाव पारेपछि नेपाली सेनाको आठ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा जनशक्ति परिचालन गरिएको छ ।रासस