काठमाडौं । नेकपा (एमाले) की सांसद नीता घतानीले राजनीतिमा पुरानो पुस्तालाई अयोग्य करार गर्दै युवा पुस्तालाई उत्तेजित बनाउने गरी निर्माण गरिएको भाष्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद घतानीले देशको विकास र लोकतन्त्र स्थापनामा अग्रज पुस्ताले गरेको योगदानलाई बिर्सन नहुने बताउनुभयो । उहाँले पुराना पुस्ताका नेताहरूले पञ्चायत र राजतन्त्रविरुद्ध संघर्ष गर्दै मुलुकलाई अहिलेको अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
घतानीले पछिल्लो ३५ वर्षमा मुलुकले हासिल गरेका उपलब्धि पुराना पुस्ताका नेताहरूको योगदानकै परिणाम भएको दाबी गर्नुभयो । ३५ प्रतिशत रहेको साक्षरता दर ८० प्रतिशत पुर्याउनेदेखि सडक, खानेपानी र स्वास्थ्य पूर्वाधार निर्माण तथा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने काममा अग्रजहरूको योगदान रहेको उहाँको भनाइ थियो ।

उहाँले पुराना नेताहरूलाई गाली गरेर सामाजिक सञ्जालमा भ्युज र लाइक बटुल्ने प्रवृत्तिले देशलाई फाइदा नपुग्ने बताउनुभयो ।
सांसद घतानीले वर्तमान सरकार ‘स्टन्ट र भ्रमको खेती’मा केन्द्रित भएको आरोपसमेत लगाउनुभयो । बजारमा ग्यासको अभाव, स्वास्थ्य बीमाको उपेक्षा तथा बाढीपहिरोजस्ता विपद्मा सरकारको उपस्थिति प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो ।
‘चुनावका बेला ठूला गफ हाँक्ने सरकार सत्तामा पुगेपछि नागरिकको समस्यामा मौन छ,’ उहाँले भन्नुभयो, ‘बाढीपहिरोका बेला हेलिकोप्टरमा राज्यको ढुकुटी सिध्याउने काम भयो, तर वास्तविक पीडितको उद्धारमा सरकार चुकेको छ ।’
उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गर्दा देखाएको राष्ट्रिय अडान र वर्तमान नेतृत्वबाट आएका राष्ट्रहित प्रतिकूल भनिएका अभिव्यक्तिबीच तुलना गर्दै सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउनुभयो।







