काठमाडौं । राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।
प्रतिनिधि सभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको उक्त विधेयकलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधन स्वीकार गर्दै विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । विधेयक पारित भएसँगै लामो समयदेखि प्रक्रियामा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालनका लागि आवश्यक कानुनी आधार तयार भएको छ ।
मन्त्री पुनले विधेयकको महत्वबारे सदनलाई जानकारी गराउँदै यसको कार्यान्वयनबाट वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभएको थियो ।
विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसँगै अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको प्रयोग तथा पहुँच थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।







