काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधमा संलग्नलाई कारबाही गर्न ढिलाइ नगर्न सरकारलाई चेतावनी दिनुभएको छ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले सत्तापक्षले प्रतिशोधको भावना त्यागेर सुशासन र रोजगारीका क्षेत्रमा ठोस नीति अघि बढाए आफ्नो दलले सरकारलाई बिनाशर्त साथ दिने बताउनुभयो।
उहाँले तत्कालीन जनआन्दोलनको भावना र जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो। आन्दोलनका क्रममा भएका हत्या, हिंसा तथा सिंहदरबार र संसद् भवन तोडफोडका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारले उदासीनता देखाएको उहाँको आरोप थियो।
शाहीले एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी प्रकरण र चिनियाँ विमान खरिदसम्बन्धी प्रकरणको छानबिन कहाँ पुगेको हो भन्दै सरकारसँग जवाफ माग्नुभयो। कानूनको प्रयोग प्रतिशोध साँध्न नभई न्यायका लागि हुनुपर्ने उहाँले बताउनुभयो।
‘हामी सरकारका प्रतिपक्षी हौँ, विरोधी होइनौँ । यदि भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने हामी तपाईंहरूकै साथमा छौँ, सडकदेखि संसद्सम्म साथ दिन्छौँ,’ उहाँले भन्नुभयो, ‘हामी सरकारलाई सही मार्ग देखाउन चाहन्छौँ । सत्तापक्षका सांसदहरूले सरकारका कमजोरी ढाकछोप गर्ने होइन, सही बाटो देखाउन सक्नुपर्छ ।’
रोजगारीको विषयमा चिन्ता व्यक्त गर्दै शाहीले विमानस्थलमा युवाहरूको लर्को देख्नुपर्ने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। युवालाई विदेशिन नपर्ने वातावरण निर्माण गर्न तथा ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधन प्रक्रिया अघि बढाउन उहाँले माग गर्नुभयो।