काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले देशमा भइरहेका श्रृङ्खलाबद्ध घटनासँगै राज्य र समाजको चासो पनि क्षणिक रूपमा मात्र केन्द्रित हुने प्रवृत्तिप्रति प्रश्न उठाउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धितालले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना चर्चामा आउने र त्यससँगै अघिल्लो घटनाका पीडितको न्यायको विषय ओझेलमा पर्ने गरेको बताउनुभयो ।
उहाँले पछिल्लो समयका विभिन्न घटनाक्रम उल्लेख गर्दै नागरिकका पीडामा राज्यले विभेद गर्न नहुने बताउनुभयो । बजारमा आउने नयाँ ‘ट्रेन्ड’सँगै न्यायका विषय पनि प्रतिस्थापित हुने गरेको उल्लेख गर्दै उहाँले राज्यको संवेदनशीलता र जवाफदेहितामाथि प्रश्न उठाउनुभयो ।
“देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ । तर अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ । हामीलाई एक प्रकारले दुःखको लत लागेको छ,” उहाँले भन्नुभयो ।
जेन–जी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या तथा रसुवाको बाढीजस्ता घटनाका बीच सुकुम्बासीका पीडा र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजीसमेत ओझेलमा परेको उहाँको भनाइ थियो ।
सांसद धितालले राज्य अरूको दुःखमा केवल सहारा दिने निकायका रूपमा सीमित हुन नहुने बताउँदै पीडितको जीवन सामान्य अवस्थामा नफर्किएसम्म राज्यले निरन्तर साथ दिनुपर्नेमा जोड दिनुभयो ।
“राज्य अरूको दुःखमा केवल टेको लगाउने होइन, आफैँ पीडितको टेको बन्नुपर्छ,” उहाँले भन्नुभयो, “केही दिनको सहानुभूतिमा मात्र सीमित नभई पीडितको जीवन सामान्य नहुन्जेलसम्म राज्य परिणाममुखी ढङ्गले उनीहरूको साथमा उभिनुपर्छ ।”
उहाँले राज्यको उपस्थिति औपचारिकतामा मात्र सीमित नराखी पीडितको जीवनमा वास्तविक परिवर्तन ल्याउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।