काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कमल सुवेदीले आफूले संसद्मा पटक–पटक उठाएका दाङ–३ क्षेत्रका जनसरोकारका विषय अझै सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवेदीले सांसदको शपथ लिएको १९१ दिन बितिसक्दा पनि आफूले उठाएका विकास निर्माण तथा जनजीविकासँग सम्बन्धित विषयमा अपेक्षित काम हुन नसकेको बताए।
‘संसद्मा उठाएका जनताका आवाज सुनिए कि शून्य समयमै शून्य भएर हराए ? कहिलेकाहीँ मनमा यस्तो प्रश्न उठ्छ,’ उनले भने।
सुवेदीले दाङ–३ अन्तर्गतका विभिन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे। उनले फुर्केसल्ली र मलईका निकुञ्जपीडितको बस्ती स्थानान्तरण, लमही–घोराही–तुलसीपुर सडक निर्माणमा भइरहेको ढिलाइ तथा शान्तिनगर, दङ्गीशरण र बबई क्षेत्रमा देखिएको कमजोर मोबाइल नेटवर्कको समस्या समाधान गर्न आग्रह गरे।
उनले नागरिकलाई आधारभूत सेवा सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै खानेपानी र विद्युत् हरेक घरमा पुर्याउन सरकार गम्भीर हुनुपर्ने बताए।
त्यस्तै, अस्पतालको सेवा गुणस्तरीय बनाउन, मलखाद तथा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र शिक्षाको गुणस्तर सुधार गर्न उनले माग गरे।
युवाहरूलाई रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै सुवेदीले भने, ‘युवाहरू विदेशको टिकट होइन, देशमै अवसरको टिकट खोज्न चाहन्छन्।’
उनले दाङ–३ का जनताले भोगिरहेका समस्या आफूले संसद्मा उठाएको भन्दै सरकारले ती विषयलाई गम्भीरतापूर्वक लिएर परिणाम देखिने गरी काम गर्नुपर्ने बताए।








