काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई असोज १५ गतेभित्र खरिद बिलको विवरण प्रणालीमा प्रविष्ट गर्न आग्रह गरेको छ ।
विभागले बिहीबार सूचना जारी गर्दै २०८३ असोज १ देखि १५ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले आफ्नो खरिद बिलसम्बन्धी विवरण Prize.ird.gov.np मा प्रविष्ट गरी उपहार कुपन लिन सक्ने जनाएको हो ।

विभागका अनुसार असोज १ देखि १५ गतेसम्मका उपहार कुपन असोज १६ गते खोलिने र विजेताको घोषणा गरिनेछ । उपहार कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन विभागले उपभोक्तालाई आग्रह गरेको छ ।
त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई पनि बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल तथा बीजक जारी गर्न वा गराउन विभागले सूचित गरेको छ । विभागले बिल लिने र जारी गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन उपभोक्ता तथा व्यवसायी दुवैलाई आग्रह गरेको हो।







