काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने चेतावनी दिएको छ ।
समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीको नीति, मर्यादा र अनुशासनविपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
समितिले पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधिदेखि साधारण क्रियाशील सदस्यसम्म सबैलाई पार्टीको हित प्रतिकूल हुने कुनै पनि गतिविधिमा संलग्न नहुन सचेत गराएको छ ।
निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि केही व्यक्ति कांग्रेसकै नाममा पार्टीविरोधी गतिविधिमा संलग्न भएको सूचना प्राप्त भएको समितिले जनाएको छ । त्यस्ता गतिविधिमाथि गम्भीरतापूर्वक निगरानी भइरहेको कार्यवाहक संयोजक धमलाले बताएका छन् ।
उनले पार्टीको मर्यादा र नीति विपरीतका गतिविधि नरोकिए आवश्यक कडा कारबाहीको प्रक्रिया तत्काल अघि बढाउन समिति बाध्य हुने स्पष्ट पारेका छन् ।
यसैबीच, कांग्रेसको वडा, पालिका र क्षेत्रीय तहका निर्वाचन प्रक्रियामा उत्साहजनक सहभागिता जनाएकोमा समितिले पार्टीका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेको छ ।








