काठमाडौं । प्रतिनिधि सभाको सोमवारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउप्रति असन्तुष्टि जनाउँदै सरकारले ‘गुण्डागर्दी शैली’ अपनाएको आरोप लगाउनुभएको छ ।
संसदमा विशेष समय लिएर बोल्दै महरले कुनै अभियोगबिना मध्यरातमा जबरालाई पक्राउ गरेर सरकारले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनको ठाडो उल्लङ्घन गरेको दाबी गर्नुभयो । उहाँले पूर्वप्रधानन्यायाधीश जबराको पक्राउलाई ‘राज्य आतंक’को संज्ञा दिनुभयो ।
महरले पछिल्ला घटनाक्रमले सरकारको नियतमाथि प्रश्न उठाएको बताउँदै केपी शर्मा ओलीको गिरफ्तारी र विष्णु पौडेलमाथि गरिएको व्यवहारलाई पनि यसैको निरन्तरताका रूपमा व्याख्या गर्नुभयो ।

उहाँले सरकारले आफूलाई फ्रान्सका राजा लुई चौधौँझैँ ‘म नै राज्य हुँ’ भन्ने भ्रममा राखेर स्वेच्छाचारी निर्णय गरिरहेको आरोप लगाउनुभयो ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन । तर सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा नागरिकको मान–प्रतिष्ठामाथि प्रहार गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘यदि कोही कसैले कानुन मिचेको छ भने तथ्य र प्रमाणका आधारमा कारबाही होस्, हामी त्यसको पक्षमा छौँ । तर आधारहीन आरोपमा घरमै गएर पक्राउ गर्ने शैली कानुनी राज्यको बर्खिलाप हो ।’
सुरक्षा थ्रेटका कारण जबरालाई पक्राउ गरिएको सरकारी भनाइप्रति समेत महरले प्रश्न उठाउनुभयो । ‘जेन–जी’को नाम जोडेर सरकारले युवा पुस्तालाई समेत बदनाम गर्न खोजेको उहाँको आरोप थियो ।
थ्रेट दिने समूहलाई संरक्षण गर्ने तर थ्रेट भोग्नेलाई पक्राउ गर्ने सरकारको कार्यशैली विरोधाभासपूर्ण रहेको भन्दै महरले त्यसको निन्दा र भर्त्सना गर्नुभयो ।
उहाँले सरकारलाई लोकतान्त्रिक विधि र विधिको शासनप्रति प्रतिबद्ध रहन चेतावनी दिँदै पछिल्ला घटनाक्रमले निरंकुशताको झल्को दिएको बताउनुभयो ।
तस्बिरः प्रदीपराज वन्त-रासस







