काठमाडौं । कालीगण्डकी नदीको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान गर्न थालेको छ । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरिका कारण आज बिहानदेखि बाढीले बेनी बजारतर्फ कटान गर्न थालेको हो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार गणेशटोलको पछाडी कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की पर्खाल बाढीले भत्काएर बस्तीतर्फ कटान गर्न थालेको हो । करिब १०० मिटर तटबन्ध बाढीले भत्काएर कटान गरेको हो ।
तटबन्ध र कुनातर्फ बनाइएको सडक बाढीले भत्काएको छ । जोखिममा परेका घरका बासिन्दा र सामानलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ । उक्त ठाउँमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजित प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनाले बेनी चक्रपथ सडक बनाएका थिए ।
कालीपुलका बासिन्दाहरु राति नै म्याग्दी बहुमुखी क्याम्पसको भवनमा आएर बसेका थिए । थप क्षति हुन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ । बेनी–७ र ८ मा पर्ने बेनी बजारमा ५०० भन्दा बढी परिवारको बसोबास छ । बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा बाढीको सतहले खतराको तह पार गरेको छ ।
सदरमुकाम बेनीदेखि प्रदेश र सङ्घीय राजधानी जोड्ने मालढुङ्गा बेनी सडक अवरुद्ध छ । शनिबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको छ । बेनीमा खानेपानीको आपूर्ति हुन सकेको छैन । बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सडक पनि अवरुद्ध भएको छ ।








