काठमाडौं । देशका विभिन्न नदी तथा खोलामा जलसतह बढेसँगै बाढीको जोखिम उच्च बनेको छ। देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह पार गरेर निरन्तर बढिरहेको छ।
नारायणी नदीको खतरा तह ९ दशमलव ३ मिटर रहेकोमा जलसतह सो तह पार गरिसकेको छ। हालको पूर्वानुमानअनुसार नदीको जलसतह ऐतिहासिक अधिकतम ११ दशमलव ६ मिटरभन्दा माथि पुगेर करिब १३ मिटर सम्म पुग्न सक्ने सम्भावना रहेको छ। आज बिहान करिब ११ बजे आसपास नारायणीको जलसतह १३ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।

यस्तै रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व तथा पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मी जिल्लाबाट बहने साना नदी तथा खोलामा समेत बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाइएको छ।
सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनार तथा तटीय क्षेत्रबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न र सरकारी निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरिएको छ।







