काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल शुक्रबार हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर इन्द्रजात्रा अवलोकन गर्नुभएको हो ।
राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदल वसन्तपुरस्थित गद्दी बैठक पुग्नुभएको थियो । उहाँसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत विशिष्ट व्यक्तित्वहरू पैदल गद्दी बैठक पुग्नुभएको थियो ।
जात्रा अवलोकनमा मन्त्री, सांसद, प्रदेशसभा सदस्य, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो ।
राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला तथा दक्षिणा चढाएर रथयात्राका लागि अनुमति दिनुभएको थियो । त्यसपछि गणेश, भैरव र कुमारीको रथयात्रा सुरु गरिएको थियो ।
२०८० सालदेखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा न्यूरोडस्थित जुद्ध सालिकबाट पैदल गद्दी बैठक पुग्दै आउनुभएको छ ।
भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको शुक्रबार मुख्य दिन हो ।









