काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आगामी केही दिन देशभर अत्यधिक वर्षा भई बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै मालवाहक तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउन व्यवसायी तथा चालकलाई आग्रह गरेको छ।
महासंघले बिहीबार सूचना जारी गर्दै असोज ८ गतेदेखि असोज १२ गतेसम्म सवारीसाधन सञ्चालन गर्दा सडक तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको हो। स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी सडकको अवस्था यकिन गरेर मात्रै सवारी सञ्चालन गर्न महासंघले आफ्ना सदस्य संस्था, व्यवसायी, चालक तथा परिचालकलाई अनुरोध गरेको छ।
नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा तथा बाढीपहिरोको सम्भावनाबारे पूर्वसूचना जारी गरिरहेकाले त्यसलाई ध्यानमा राख्दै सवारी सञ्चालन गर्न महासंघले आग्रह गरेको जनाएको छ।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले प्रतिकूल मौसममा जोखिम मोलेर सवारी सञ्चालन नगर्न व्यवसायी तथा चालकलाई आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, “सडक र मौसमको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गर्नुपर्छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर जोखिमयुक्त क्षेत्रमा सवारी नचलाउने र यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न व्यवसायीलाई आग्रह गरेका छौँ।”
महासंघले बाढी, पहिरो वा सडक अवरोधको अवस्था देखिएमा सम्बन्धित निकायको सूचना तथा निर्देशनअनुसार सवारी सञ्चालन गर्न पनि आग्रह गरेको छ।








