काठमाडौं । सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनःस्थापना तथा सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको, बाढीपीडितको अवस्था अझै कष्टकर रहेको तथा सञ्चार क्षेत्र विभिन्न समस्याबाट गुज्रिरहेको भन्दै सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन् ।
सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनुभयो । उहाँले दशैं–तिहारको मुखमा तरकारी तथा मासुको मूल्य बढ्दा पनि सरकारले बाह्य कारण देखाएर पन्छिने गरेको बताउनुभयो । मौसमी पूर्वानुमानलाई ध्यानमा राख्दै सम्भावित बाढी तथा अन्य विपद्बाट नागरिकलाई सुरक्षित राख्न सरकारले पर्याप्त पूर्वतयारी गर्नुपर्ने उहाँको भनाइ थियो ।
सांसद बुद्धरत्न महर्जनले विपद् प्रभावित परिवार अझै पनि अस्थायी टहरामा बस्न बाध्य रहेको भन्दै उनीहरूका लागि एकमुष्ट राहत तथा पुनःस्थापना प्याकेज घोषणा गर्न सरकारसँग माग गर्नुभयो । सांसद भरतप्रसाद पराजुलीले बाढीमा बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने र उनीहरूका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, सांसद बुद्धिप्रसाद पन्तले सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारी विज्ञापनमा गरिएको कटौती तथा नेपाल पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद विश्वराज पोखरेलले इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने माग दोहोर्याउनुभयो । सांसद बिना गुरुङले सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव र भौतिक पूर्वाधारको दुरवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सुधारका काम अघि बढाउन आग्रह गर्नुभयो ।
सांसद भरत गिरीले चाडपर्वका समयमा हुने सडक दुर्घटना न्यूनीकरणका लागि प्रमुख राजमार्गको सुरक्षा परीक्षण गर्न तथा सवारीसाधनको अवस्था जाँच्ने कार्यलाई कडाइ गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले सडकको अवस्था र सवारीसाधनको फिटनेस परीक्षण प्रभावकारी बनाएर दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।








