२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित



अ+ अ-

काठमाडौं । नेपाली सङ्गीतका मूर्धन्य सङ्गीतकार शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भएका छन् ।

नेपाली संगीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदानको कदर गर्दै बाँस्कोटालाई ‘लेजेन्ड्री म्युजिक मेस्ट्रो अवार्ड’ प्रदान गरिएको हो ।

कुपण्डोलस्थित होटल हिमालयमा आयोजित समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बाँस्कोटालाई उक्त सम्मान प्रदान गरे ।

सिजन मिडिया नेपालले नेपाली संगीत तथा कलाक्षेत्रमा बाँस्कोटाले पुर्‍याएको असाधारण योगदान, पाँच दशकभन्दा लामो सिर्जनात्मक यात्रा र सांस्कृतिक क्षेत्रमा दिएको विशिष्ट सेवाको सम्मानस्वरूप अवार्ड प्रदान गरिएको जनाएको छ ।

सन् १९७१ मा संगीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक यात्रा सुरु गरेका बाँस्कोटाले पाँच दशकभन्दा लामो अवधिमा नेपाली संगीतलाई विभिन्न विधामार्फत समृद्ध बनाएका छन् । संगीत निर्देशक, संगीतकार, गायक तथा गीतकारका रूपमा उनले नेपाली चलचित्र, आधुनिक संगीत, लोक, देशभक्तिपूर्ण तथा भक्ति संगीतमा महत्वपूर्ण योगदान दिएका छन् ।

बाँस्कोटाले ३६४ भन्दा बढी नेपाली फिचर फिल्ममा संगीत निर्देशन गरेका छन् भने २ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेको आयोजकले जनाएको छ । उनले ७ सयभन्दा बढी रेडियो तथा टेलिभिजन विज्ञापनका जिङ्गलमा समेत संगीत दिएका छन् ।

नेपाली टेलिभिजनको प्रारम्भिक विकासक्रममा समेत उनको महत्वपूर्ण भूमिका रहेको छ । नेपाल टेलिभिजनको लोगो तथा समाचारको थिम संगीत निर्माणदेखि ‘संगीत संगम’, ‘गीतगाथा’ र ‘मनको रहर’ जस्ता कार्यक्रमको परिकल्पना, निर्माण तथा निर्देशनमा उनले योगदान गरेका छन् ।

चलचित्र संगीततर्फ ‘प्रेमपिण्ड’, ‘सीमारेखा’, ‘बसन्ती’, ‘राजमती’ र ‘सेतो बाघ’ उनका चर्चित कृतिमध्ये पर्छन् । ‘गौँथली’ चलचित्रमा ५९ वटा गीतका लागि संगीत सिर्जना तथा निर्देशन गर्नु पनि उनको सांगीतिक यात्राको उल्लेखनीय उपलब्धि मानिन्छ ।

सिर्जनात्मक कर्मसँगै बाँस्कोटाले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव, नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक र चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षलगायतका जिम्मेवारीसमेत सम्हालेका छन् ।

उनले प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, नारायणगोपाल संगीत पुरस्कार, छिन्नलता पुरस्कार, तोयनाथ जैसिस पुरस्कार, युवा वर्ष पुरस्कारलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।