१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले हिमनदी पग्लिने तथा हिमताल विस्फोटबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन र न्यूनीकरणका लागि राष्ट्रिय हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पुनले दीर्घकालीन रूपमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको अध्ययन गर्न छुट्टै कोष आवश्यक रहेको बताउनुभएको हो । उहाँले नेपाल सरकारसँगै ग्रिन क्लाइमेट फन्ड, एडाप्टेशन फन्डलगायत अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गरी यस्तो कोष स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी, पारदर्शी र न्यायोचित बनाउन सरकारसँग माग गर्नुभयो । राहत वितरणमा वृद्धवृद्धा, सुत्केरी, बालबालिका, गर्भवती महिला तथा बिरामीलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा मनोपरामर्श सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै पुनले सुरक्षित स्थान पहिचान गरी प्रभावित नागरिकलाई स्थानान्तरण तथा अस्थायी आवासको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । विद्यालय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने तथा बाढीमा बुबा–आमा दुवै गुमाएका बालबालिकाको कम्तीमा स्नातक तहसम्मको सम्पूर्ण शिक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी, जलविद्युत् आयोजना, सुरुङ तथा विद्युत् गृहमा फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई सम्भव भएसम्म छिटो अघि बढाउन उहाँले माग गर्नुभयो । स्वास्थ्य, खानेपानी, विद्युत् र सञ्चारलगायत अत्यावश्यक सेवा तत्काल पुनःस्थापना गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद पुनले नदी तटीय क्षेत्रका लागि नयाँ मापदण्ड बनाएर त्रिशूली सभ्यताको पुनःस्थापनाको काम अघि बढाउनुपर्ने बताउनुभयो । व्यावसायिक क्षतिको मूल्याङ्कन गरी प्रभावित व्यवसायीका लागि विशेष राहत तथा पुनःस्थापना प्याकेज ल्याउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा तत्काल पुनःस्थापना गर्नुपर्नेमा समेत जोड दिनुभयो ।