७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

अङ्कित मूल्यमा नै जलविद्युतको  सेयर उपलब्ध गराउन इप्पानको आग्रह
अ+ अ-

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अङ्कित मूल्य अर्थात् प्रतिकित्ता रु १०० मा नै सेयर उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार केही जलविद्युत् आयोजनाको साधारण सेयर निस्कासन प्रक्रियामा भएको ढिलाइका कारणले कतिपय प्रवर्द्धक कम्पनीले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निस्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

धितोपत्र दर्ता तथा निस्कासन नियमावली, २०७३ अनुसार स्थानीय प्रभावित बासिन्दालाई लाभान्वित गर्ने उद्देश्यले १० प्रतिशत सेयर उपलब्ध गराउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुरूप अङ्कित मूल्यमा नै सेयर उपलब्ध गराउन सम्पूर्ण सदस्य कम्पनीलाई इप्पानले अनुरोध गरेको छ ।

इप्पानले जलविद्युत् आयोजना केवल लगानीको माध्यममात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियानसमेत भएको जनाएको छ ।

आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव व्यहोर्ने, निर्माण अवधिका असुविधा सहने तथा आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयर छुट्याउने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निस्कासन गरिए स्थानीय समुदायको पहुँच सीमित हुने, उनीहरूमा आयोजनाप्रतिको अपनत्वको भावना कमजोर बन्ने तथा आयोजना र समुदायबीच वर्षौँदेखि निर्माण भएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने इप्पानको ठहर छ ।

अङ्कित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय समुदाय आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्वको भावना अभिवृद्धि हुने स्पष्ट पारिएको छ । यस्तै, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोध कम हुने तथा स्थानीयस्तरमा सहयोग र सहकार्य थप सुदृढ हुने विश्वास संस्थाले व्यक्त गरेको छ । यसबाट जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण बन्नुका साथै स्थानीय समुदायले दीर्घकालीन आर्थिक लाभ प्राप्त गर्ने अवसर सुनिश्चित हुने, आर्थिक सशक्तीकरण, स्थानीय विकास तथा सामाजिक सद्भावमा समेत टेवा पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

इप्पानले सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवर्द्धक कम्पनीलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत् आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई प्राथमिकतामा राख्न अनुरोध गरेको छ । स्थानीयका लागि छुट्याइने सेयर अङ्कित मूल्य अर्थात् प्रतिकित्ता रु १०० मै उपलब्ध गराउने नीतिलाई निरन्तरता दिनसमेत आग्रह गरिएको छ ।

साथै, साधारण सेयर निस्कासनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन इप्पानले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

सेयर निस्कासनमा भइरहेको ढिलाइका कारण जलविद्युत् आयोजनाले भोगिरहेका समस्या समाधान गर्न तथा समयमै सेयर निस्कासन हुने व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायको इप्पानले ध्यानाकर्षण गराएको छ । रासस