२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला भलिबल टोलीलाई जनही तीन लाख



अ+ अ-

काठमाडौं । सरकारले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको राष्ट्रिय महिला भलिबल टोलीलाई आज नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागीलाई शुभकामना प्रदान गर्न आज यहाँ आयोजित कार्यक्रममा भलिबल खेलमा एतिहासिक सफलता हासिल गरेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडा, युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारलगायतले सम्मान गर्नुभयो । सम्मानस्वरुप राष्ट्रिय टोलीका प्रत्येक सदस्यले जनही रु तीन लाख प्राप्त गर्नुभएको छ ।

एसिसी सेन्ट्रल जोनमा नेपालले स्वर्ण जितेपछि सरकारले यसअघि नै नेपाली टोलीलाई जनही रु तीन लाख प्रदान गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले सागलाई सरकारले भ्रमण वर्ष २०२० को पूर्वअभ्यासको रुपमा समेत लिएको बताउनुभयो । उहाँले भ्रमण वर्ष सफल बनाउन सागले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सागले क्षेत्रीय, राजनीतिक र आर्थिक समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय खेल भलिबल भएकाले सुविधा सम्पन्न कभर्डहल निर्माण गर्ने सरकारको योजनासमेत रहेको भन्दै यसका लागि जग्गा खोज्ने काम भइहेको बताउनुभयो । १३ औँ साग नजिकिँदै गर्दा सरकारले पदक विजेताको पुरस्कार रकममा उल्लेखनीय वृद्धि गर्ने अर्थमन्त्री खतिवडाले बताउनुभयो । उहाँले के कति रकम वृद्धि गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र उल्लेख गर्ने बताउनुभयो ।

यसअघि सरकारले १२ औँ सागमा स्वर्ण विजेतालाई रु तीन लाख, रजत विजेतालाई रु दुई लाख तथा कास्य पदक विजेतालाई रु एक लाख प्रदान गरेको थियो । त्यसैगरी युवा तथा खेलकूदमन्त्री सुनारले १३ औँ सागमा खेलाडीले उच्च मनोबलको साथ खेल मैदानमा उत्रन आग्रह गर्नुभयो । साग यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुँदैछ ।