७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो
अ+ अ-

पर्वत। यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस फुल्नुका साथै मौसम पनि हरियाली बनेको छ । अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो ।

नेपालका प्रचलित पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढिरहेका बेला पर्वतको सबैभन्दा उचाइमा रहेको नयाँ गन्तव्य कोखेडाँडा र हम्पाल क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । मोदी गाउँपालिका-१ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको आकर्षक स्थान हो । समुद्री सतहबाट तीन हजार ३०९ मिटरको उचाइमा रहेको यो स्थान निकै मनमोहक र सुन्दर छ । यो जिल्लाकै सबैभन्दा उच्च स्थान पनि हो ।

छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्रामार्फत पुग्न सकिने कोखेडाँडाबाट यतिबेला रङ्गीबिरङ्गी लालीगुराँस, सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत दर्जनाैँ हिमशृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ । यहाँबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँ जिल्ला प्रत्यक्ष रूपमा देख्न सकिन्छ ।

लामो समयदेखि पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गरेपछि यहाँ पर्यटकको चहलपहल बढ्दै गएको बताउनुभयो । गुरुङले रु एक करोड २० लाखको लगानीमा आपा कटेज स्थापना गरी सञ्चालन गरिरहनुभएको छ ।

कटेजमा एक रातमा नेपाली ४० जनासम्म बास बस्न मिल्ने बताउँदै उहाँले विदेशी १५ जनासम्म राख्न सकिने जानकारी दिनुभयो । अहिले अग्रिम बुकिङ गरेर आउनेहरूको सङ्ख्या उल्लेख्य रहेको गुरुङले बताउनुभयो । विदेशीभन्दा स्वदेशी पर्यटक बढी आउने गरेका उहाँको भनाइ छ ।

बस्नका लागि स्थान सीमित भए पनि दैनिक सयाँै पर्यटक आएर अवलोकन गरी फर्किने गरेका गुरुङले बताउनुभयो । उहाँले आफ्नो कटेजमा आउने आन्तरिक र बाह्य पर्यटकलाई छुट्टाछुट्टै दररेटको दरभाउ (प्याकेज) बनाइएको जानकारी दिनुभयो ।

कोखेडाँडामा विभिन्न ३० देशका झन्डासमेत राखिएको छ । बाह्य पर्यटकको आकर्षण बढाउनका लागि भारत, एसियासहित अधिकांश मुलुकका साथै, युरोपियन मुलुक, अष्ट्रेलिया र अमेरिकन देशका झन्डाहरूले सजाएर आकर्षक बनाइएको छ ।

पर्यटकीयस्थल कोखेडाँडा जानका लागि पर्यटकले तीनवटा मार्ग प्रयोग गर्दै आएका छन् । कास्कीको नयाँपुल-उल्लेरी-वनठाँटी हुँदै पैदल हिँडेर कोखेडाँडा पुग्न सकिन्छ । त्यसैगरी पातीचौर-बाजुङ-क्याङ-लेसपारसम्म गाडीमा यात्रा गरी त्यहाँबाट करिब सात घण्टाको पैदलयात्रामार्फत पनि कोखेडाँडा पुग्न सकिन्छ । त्यस्तै पर्वतको जलजला गाउँपालिकाअन्तर्गत मिलनचोक-शालिजा-तारे-हम्पालसम्म सवारीसाधनमार्फत यात्रा गरेर तीन घण्टाको पैदलयात्रा गरी कोखेडाँडा पुग्न सकिन्छ ।

कोखेडाँडासँगैको अर्को गन्तव्य हो पर्वतको हम्पाल डाँडा । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिने यो क्षेत्र समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा अवस्थित यो डाँडामा नेपालकै सबैभन्दा बढी १२ थरिका लालीगुराँस पाइन्छन् ।

फागुनदेखि जेठसम्म विभिन्न प्रजातिका लालीगुराँसले रङ्गीबिरङ्गी हुने हम्पालमा लालीगुराँस हेर्न, टिप्न, तस्बिर, भिडियो खिच्न तथा टिकटक बनाउनका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्लो समय बढेको स्थानीय पर्यटन व्यवसायी तिलक पुनले बताउनुभयो । उहाँका अनुसार यहाँ रातो, सेतो, पहेँलो, हरियो, नीलो, खैरो, गुलाबी, बैजनीलगायत रङका लालीगुराँसहरू फुल्ने गर्दछन् ।

हम्पालमा पछिल्लो समय सडक मार्ग र पदमार्ग दुवैको पहुँच बढेपछि घुम्न आउने पर्यटकको सङ्ख्या बढेको मोदी गाउँपालिका-४ लेसपारका पर्यटन व्यवसायी नरसिंह पुनले जानकारी दिनुभयो । “जता हेरे पनि गुराँसैगुराँस देखिन्छ, आँखै तिरमिराउनेगरी फुलेको देख्न सकिन्छ”, उहाँले भन्नुभयो ।

विद्यालय तथा क्याम्पसका विद्यार्थी, शिक्षक, विभिन्न सङ्कायमा अध्ययन गर्ने विद्यार्थी खोज तथा अनुसन्धान गर्न तथा विदेशी पर्यटकसमेत हम्पालमा आउने गरेको पर्यटन व्यवसायी पुनले बताउनुभयो । विभिन्न पुराणमा वर्णन गरिएको पवित्र कालञ्जर भूमिका रूपमा अवस्थित हम्पाल तथा जलजला क्षेत्र हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रूपमा विकास भएको छ ।

जलजला गाउँपालिका-५ र ६ तथा मोदी गाउँपालिका-१, ३ र ४ मा अवस्थित हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सङ्घीय, प्रदेश र गाउँपालिकाले संयुक्त रूपमा पूर्वाधार निर्माण थालेका छन् । पर्यटकका लागि आश्रयस्थल, भ्यूप्वाइन्ट, खानेपानीको व्यवस्था, शौचालय निर्माण र सडक स्तरोन्नतिलगायतका पूर्वाधारसमेत निर्माण गरिसकिएको छ ।

जलजलामा विगत तीन वर्षदेखि होटल व्यवसाय गर्दै आएका टीका पुनले लालीगुराँस हेर्नका लागि आउने पर्यटकले दैनिकजसो होटल भरिभराउ हुने गरेको बताउनुभयो । दैनिक होटल बुकिङ गर्नेको सङ्ख्या उल्लेख्य रहेको उहाँको भनाइ छ । लालीगुराँस हेर्न आउनेहरू एक दिन हम्पालमा बसेर अर्को दिन पर्वतको कोखेडाँडा, ताप्राङ र म्याग्दीको पुनहिल, घोरेपानी, मोहोरेडाँडातर्फ जाने गरेका पुनले जानकारी दिनुभयो ।

मोदी र जलजला गाउँपालिकाले संयुक्त रूपमा लगानी गरेर गत मङ्सिरमा विद्युतीकरणसमेत गरिसकेका छन् भने अब सञ्चारको सुविधाका लागि पहल भइरहेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जलजलाबाट हिमशृङ्खला, सूर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ ।

धवलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लुलगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङसम्मको भूगोल अवलोकन गर्न सकिने सुन्दर पर्यटकीयस्थल हो । जलजलामा ठूलो मैदान छ । सोही मैदान सम्याएर कृत्रिम तलाउ बनाउने योजनाअनुरुप डिपिआरको काम सकिएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

यसैबीच नेपाल पत्रकार महासङ्घ पर्वतको टोलीले हम्पाल, जलजला र कोखेडाँडाको पर्यटन प्रवर्द्धनका लागि दुईदिने पदयात्रा गरेको छ । पदयात्राका क्रममा यस क्षेत्रमा विस्तार भएको पूर्वाधार, पर्यटनको सम्भावना, चुनौती र भावी योजनाका बारेमा छलफल तथा अन्तर्क्रियाका साथै अवलोकनसमेत गरेको पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण सापकोटाले जानकारी दिनुभयो ।