१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ३ को नाम ‘वाग्मती’, राजधानी ‘हेटौँडा’ नै राख्न नेकपाभित्र सहमति



अ+ अ-


हेटाैंडाः प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पारित गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पारित गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

उनले विगतमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो हिसाबले मन्तव्य र विचार व्यक्त गरेको भए पनि एक भएर राजधानी र नामकरण टुङ्ग्याउने सहमति भएको बताइन् । दलको निर्णयअनुसार नै मतदान हुने हुँदा ‘ह्वीप’ वा दण्डको डर वा त्रास देखाउने अवस्था नरहेको उनकाे भनाइ छ ।

बैठकपछि मुख्यमन्त्री डोरमणि पौडेलले संसद्मा एउटा मात्र प्रस्ताव लैजाने सहमति भएको जानकारी दिए । ‘‘दलको बैठकमा प्रदेशसभा सदस्यको धारणा सुनेपछि संसद्मा राजधानी हेटौँडा र नाम वाग्मती मात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसम्मत भएको छ’’, मुख्यमन्त्री पौडेलले भने । राजधानी र नाममा एउटा–एउटा मात्र प्रस्ताव पेश गर्न राखिएको प्रस्ताव सर्वसम्मतरूपमा पास भएको उनले बताए ।

यही पुस २७ गते प्रदेश नं ३ ले स्थायी राजधानी मकवानपुरको हेटौँडा र नाम वाग्मती पाउने पौडेलको भनाइ छ । विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौँडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले जानकारी दिए । हेटौँडालाई राजधानी बनाउँदा समृद्ध नेपाल बनाउने अभियानमा धेरै हिसाबले बल पुग्ने र थुप्रै रणनीतिक कारण पनि हेटौँडा उपयुक्त हुने उनकाे भनाइ थियो ।

“नेकपाको संसदीय दलले एक ढिक्का र एकमतका साथ जाने निर्णय गरेको छ”, उनले भने । ह्वीप नलगाउँदा ‘फ्लोरक्रस’ हुन्छ कि ? भन्ने प्रश्नमा अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको कारण पार्टीको निर्णय नमान्ने भन्ने कुरा नहुने बताए । प्रदेशसभामा नेकपाका ८०, नेपाली काँग्रेसका २२, विवेकशील नेपालीका तीन, राप्रपाका एक, राप्रपा (संयुक्त)का एक र नयाँ शक्तिका एक सदस्य छन् ।