६ पुष २०८२, आईतवार
,
Latest
परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु



अ+ अ-

रुपन्देही। नेपालमा रोकिएको सडक उपभोग दस्तुर सङ्कलन रुपन्देहीबाट पुनः सुरु भएको छ । सडक बोर्ड नेपालले यहाँस्थित भैरहवा–भूमही सडकखण्डमा रहेको सङ्कलन केन्द्रबाट आजदेखि दस्तुर सङ्कलन सुरु गरेको हो ।

यसअघि ठेक्का लगाएर दस्तुर सङ्कलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर सङ्कलन गरिरहेको छ ।

सडक बोर्ड ऐन, २०५८ को दफा ‘६’ र ‘४’ को अधिनमा रही “सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१” बमोजिम दस्तुर सङ्कलन गरिएको बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिनुभयो । उहाँले अहिले भैरहवा–भूमहि सडकखण्डमा सुरु गरिए पनि अबको केही दिनमै अन्य तीन स्थानबाट पनि दस्तुर सङ्कलन सुरु गरिने बताउनुभयो ।

“२०८१ जेठ १७ गतेको मन्त्रिपरिषद्कै निर्णयअनुसार टोल ट्याक्स उठाउने निर्णय भएको थियो, टोल ट्याक्स पनि डिजिटाइलज माध्यमबाट उठाउने कुरा हो । सोहीअनुसार भैरहवाबाट यसको सुरुआत गरेका छौँ”, केसीले भन्नभयो, “यो सडकखण्ड छोटो रहेको र भन्सार विन्दु पनि रहेको हुँदा यहीँबाट सुरु गर्ने निर्णयमा पुगेका हौँ ।”

उहाँले भैरहवा भन्सारबाट निस्केका ओभरलोड गाडीहरुले सडक बिग्रेका कारण त्यसको अनुगमन पनि गर्ने र सो गाडीहरुले बिगारेको बाटो सङ्कलित करबाट मर्मत गरिने बताउनुभयो । उहाँले भैरहवाबाट सुरु गरेको सडक दस्तुर सङ्कलन अब वीरगञ्ज–पथलैया, धरान विराटनगर र नारायणगढ–मुग्लिङ बाटोमा पनि सुरु गरिने बताउनुभयो ।

यससँगै नागढुङ्गासडक खण्डमा पनि सवारी साधनबाट ‘रिड’ गर्न मिल्ने ‘आरएफआइडी’ प्रविधि जडान गरी दस्तुर सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो ।

सङ्कलित रकमको कम्तीमा दुई तिहाइ रकम सोही सडकखण्डको मर्मतसम्भारमा उपयोग गरिने केसीको भनाइ छ । दस्तुर सङ्कलनलाई व्यवस्थित गर्न बैंकिङ प्रणाली विद्युतीय माध्यमबाट गरिएको र भुक्तानी नगदको साथै ‘क्युआर कोड’बाट पनि गर्न मिल्ने बनाइएको छ ।

भैरहवा–भूमही सडकखण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टको रु ३०, कार, जिप, पिकअप भ्यान र ट्र्याक्टरको रु २० र तिनपाङ्ग्रे तथा मोटरसाइकलको रु १० सडक उपभोग दस्तुर तोकिएको छ । यो सडकखण्डमा भने तिनपाङ्ग्रे तथा मोटरसाइकलको दस्तुर अहिले सङ्कलन नगरिएको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो ।