काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले नेपाली कांग्रेसले ढिलोचाँडो राष्ट्रिय मेलमिलाप नीतिको दोस्रो संस्करण ल्याउने सामर्थ्य राख्छ कि राख्दैन भन्ने प्रश्न उठाएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै श्रेष्ठले राष्ट्रका लागि राजा र राजसंस्थाको अपरिहार्यता बुझेका बिपी कोइराला पछिका नेतामध्ये त्यस्तै दूरदृष्टि राख्ने व्यक्ति कांग्रेसभित्र छन् कि छैनन् भन्ने जिज्ञासा समेत प्रकट गरेका छन् ।
उनले लेखेका छन्, “के नेपाली कांग्रेसले ढिलोचाँडो राष्ट्रिय मेलमिलाप नीतिको दोस्रो संस्करण ल्याउन सक्ने सामर्थ्य राख्छ होला ? राष्ट्रका लागि राजा, राजसंस्थाको अपरिहार्यता देख्ने बिपी कोइराला पछिको दुरदर्शी त्यहाँ कोही होलान्रनहोलान् ? देशले त आज होइन, धेरै पहिले नै त्यो आवश्यकता बोध गरिसकेन र ?”
श्रेष्ठले देशको वर्तमान अवस्थाले पुनः राष्ट्रिय मेलमिलापको आवश्यकता देखाएको दाबी गर्दै, त्यस दिशामा कांग्रेसले भूमिका खेल्नुपर्ने सुझाव पनि दिएका छन् ।
बिपी कोइरालाले २०३३ सालमा नेपाल फर्किएपछि अघि सारेको ‘राष्ट्रिय मेलमिलाप नीति’ ले लोकतन्त्र, राजतन्त्र र राष्ट्रिय एकतालाई सन्तुलनमा राख्ने प्रयास गरेको थियो ।









