काठमाडौँ । आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत पहिलो खेलमा नेपालले जित निकालेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालले एक रनले विजयी भएको हो । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्रै बनायो ।
उसका लागि आलिशान शराफुले ५८, तथा ध्रुव पराशरले ३२ तथा जोनाथन फिगीले १९ रन तथा जाहिद अलिले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि बलिङतर्फ दिपेन्द्र सिंह ऐरीले तीन, तथा सोमपाल कामी, गुलशन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
जितसँगै नेपालले दुई अंक जोडेको छ ।
त्यसअघि ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन जोड्यो ।
नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ५१ रन जोडे । यस्तै, कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुलशन झाले १४ रन, कुशल मल्लले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ युएईका जुनैद सिद्धिकी, मुहम्मद रोहिद, जाहिद अलि, हैदर अलि, हर्षित कौशिक र ध्रुव पराशरले एक–एक विकेट लिए ।










