२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा



अ+ अ-

मेलम्ची । जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको रु एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी कोरोना सङ्क्रमणबाट पोजिटिभ पुष्टि भएमा बीमाङ्क रकम प्राप्त गर्ने र रु १० लाख बराबरको स्वास्थ्य बीमा गर्ने भएको छ । बीमावापतको शुल्क जनप्रतिनिधि आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको सो गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
 
यसैगरी सो गाउँपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै सेलाङ मावि सेलाङ, गोल्चे बगर, वडा नं ३ कालीदेवी मावि पाङताङ, डल्लेपोखरी पाङताङ, रत्नराज्य मावि चनौटे, हगाम र जलदेवी माविमा सुरक्षित आवासस्थल तयार गर्ने उहाँले  बताउनुभयो ।
 
होम क्वारेन्टिनलाई व्यवस्थित गर्न बनाइएको मापदण्ड पारित गर्ने तथा उक्त मापदण्डको पालनाका लागि उचित प्रचारप्रसार गर्ने र जुगल बाहिरबाट आएका जोसुकै व्यक्तिका लागि अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय गरिएको जनाइएको छ  । गाउँपालिकाले कोरोना सङ्क्रमण परीक्षणको दायरालाई बढाइ  आव २०७७÷७८ को नीति तथा कार्यक्रम तयारीका लागि विषयगत समितिहरुले कार्य थालनी गर्नेछन् ।