काठमाडौँ । पतञ्जली जग्गा हिनामिनामा प्रकरणमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वारेस सुविधा माग गरेकोमा विशेष अदालतले अस्वीकार गरेको छ ।
अध्यक्ष नेपालले राजनीतिक कार्यक्रममा देशको विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाउँदै मुद्दामा वारेस राख्ने अनुमति पाउँ भनी निवेदन दिएका थिए ।
उक्त निवेदनउपर सोमबार विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सुनुवाइपछि वारेस सुविधा दिन अस्वीकार गरेको हो ।
२२ जेष्ठमा अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आयोगले हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।











