१ भाद्र २०८३, सोमबार
,
Latest
चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिलोकेश्वरबाट पशुपतिसम्म कलश यात्रा सम्पन्न



अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ वागेश्वरीस्थित बागेहिटी देवी मन्दिर परिसरमा रहेको त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सुरु भएको कलश यात्रा सोमबार साँझ सम्पन्न भएको छ ।

सोमबारदेखि सुरु भएको एकमहिने साउने मेलाका अवसरमा सयौँको सङ्ख्यामा बागेश्वरीस्थित बागेहिटीबाट सुरु भएको कलश (जल) यात्रा पशुपति मन्दिरमा लगेर चढाउनुका साथै पशुपति मन्दिरबाट जल भरेर पुन:फर्केको कलश यात्रा त्रिलोकेश्वर महादेव मन्दिरमा ल्याएर जलार्पण गरिएको थियो ।

‘नगरकोट भ्रमण वर्ष(२०८२’ को अवसर पारेर बागेहिटी संरक्षण समितिद्वारा सोमबारदेखि बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा सञ्चालन गरेको श्रावणी महोत्सवको पहिलो दिन पशुपतिसम्मको कलश यात्रा गरी जलार्पण गरिएको महोत्सव आयोजक समितिका प्रचार संयोजक रमेश अधिकारीले जानकारी दिनुभयो ।

तीनतले महादेवको नाममा प्रसिद्ध त्रिलोकेश्वर महादेव मन्दिरमा श्रावणी महोत्सवसँगै यही साउन ५ गतेदेखि १९ गतेसम्म शिवपुराण ज्ञान महायज्ञ र साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञको आयोजना हुने बताउँदै उहाँले महायज्ञमा विदुषी वाचिका यशोधा देवीबाट कथा प्रवचन हुने जानकारी दिनुभयो ।

यसैगरी, सोमबर चाँगुनारायण नगरपालिका(३ स्थित ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा सयौँ महिलाले जलार्पण गर्दै मेला भरेका छन् । स्थानीयले मनोहरा खोलाको जल कलश भरेर कलश यात्रा गर्दै मन्दिरमा जलार्पण गरी मेला सम्पन्न गरेका हुन् ।

साउनको सोमबार बिहानैदेखि भक्तपुरका प्रसिद्ध शिवालयमा दर्शनार्थीको घुइँचो लागेको थियो । भक्तपुरको सूर्यविनायक नगरपालिका(८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा सुरु भएको एकमहिने साउने मेलामा सोमबार हजारौँको भीड लागेको छ ।

भक्तजनको सहजताका लागि भक्तपुरको जगातीबाट डोलेश्वर महदेव मन्दिर जाने दुई वटा सडकलाई एकतर्फी यातायात सञ्चालन गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको भन्दै उहाँले एकमहिने मेलामा महिना दिनभरि मेला भर्न सकिने बताउनुभयो ।

त्यसैगरी, सिपाडोलको प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको दिनभर घुइँचो लागेको छ । मनको आशा पूरा गर्ने महादेवका रूपमा परिचित रहँदै आएको यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइचो लागेको हो ।

सूर्यविनायक नङ्खेलस्थित नन्दीकेश्वर महादेव मन्दिर, सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वर र कैलाशनाथ मन्दिरमा दर्शनार्थीको दिनभर भीड लागेको छ ।

त्यस्तै, ब्रम्हा, विष्णु र महेश्वरको त्रिमूर्तिको नाममले परिचित भक्तपुर नगरपालिकास्थित प्रसिद्ध दत्तात्रय मन्दिरमा बिहानैदेखि दिनभर भीड लागेको छ । भीड व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नुका साथै लाइनमा बस्नेका लागि टोकनको व्यवस्था गरेको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकबाट दर्शनार्थीको आगमनले यहाँका महादेव मन्दिरहरू भरिभराउ भएका छन् । रासस