१ भाद्र २०८३, सोमबार
,
Latest
चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दशकदेखि राजमार्गको पुलमुनि बास



अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । यहाँको शुक्लाफाँटा नगरपालिका–११ का दलबहादुर बोहरा दुई दशकदेखि पूर्वपश्चिम राजमार्गको बनहरा पुलमुनि बस्दै आउनुभएको छ ।

डडेल्धुराको आलितालमा पहिरोले घर खेत बगाएपछि विस्थापित हुनुभएका बोहरा विसं २०६२ देखि बनहरा पुलको ओत लागेर बस्न थाल्नुभएको हो । “सम्पत्तिका नाममा केही छैन गरिखान मजदुरी गर्न कहिले मिल्छ कहिले मिल्दैन ।” बोहराले दु:खेसो गर्दै भन्नुभयो, “यो पुलमुनि ओत लागेर बस्न थालेको २० वर्ष भयो ।”

बोहरा मात्रै होइनन् । २८ परिवारले पुलमुनि जीवन बिताउँदै आएका छन् ।  यहाँ बसोबास गर्नेले पुल छेउमै पाल टाँगेर टहरा बनाएका छन् । बनहरा नदीमा आउने बाढीबाट बच्न अग्लो स्थानमा पाल टाँगेर अस्थायी रुपमा बस्ने ठाउँ बनाएको बोहराको भनाइ छ । “हिउँदमा जेनतेन दिन बित्छ तर वर्षादको समय निकै कष्टपूर्ण हुन्छ ।” उहाँले भन्नुभयो, “बाढी आउने डरले राजमार्गको अग्लो स्थानमा पाल टाँगेर बसेका छौँ ।”

उहाँले मुलुकमा व्यवस्था परिवर्तन भए पनि सरकारले आफूहरुको सुरक्षित बासको व्यवस्था गर्न नसकेको गुनासो गर्नुुभयो । “वर्षादमा बाढीको डर, जङ्गली जनावरको र सर्पको डरैडरमा बस्नुपरेको छ, बालबच्चा जोगाउनै मुस्किल छ ।” उहाँले भन्नुभयो, “गाउँगाउँमा सिंहदरबार आयो भन्छन् हामीले त्यो महसुस गरेका छैनौँ ।”

राजमार्ग छेउमै टहरा बनाएर बस्नुभएका लक्ष्मण विष्टको अवस्था उस्तै छ । “राजमार्गमा सङ्घीयदेखि स्थानीय तहका जिम्मेवार पदाधिकारी गाडीमा ओहरदोहर गरिरहन्छन् । हाम्रो पीडा कसैले बुझदैनन्”, विष्टले भन्नुभयो, “वडा र नगरपालिकामा हामीलाई सुरक्षित बासको व्यवस्था गरिदेउ भन्छौँ कसैले सुन्दैनन् ।” उहाँले सरकारले आफूहरुको सुरक्षित स्थानमा बस्ने व्यवस्थापन गरिदिए मजदुरी गरेर जीविकोपार्जन गर्ने बताउनुभयो ।

प्राय: मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका सुकुम्वासी पछिल्लो समय मजदुरी गर्न नपाएको गुनासो गर्छन् । “म १७ वर्षको उमेरमा रोजगारीका लागि भारत गएको हुँ । त्यहाँ केही सीप नचलेर यहाँ आएँ”, सुकुम्वासी बस्तीका प्रेमबहादुर साउदले भन्नुभयो, “अहिले यहाँ मजदुरी गराँै भने पनि पाइँदैन परिवारको साँझ बिहानको छाक टार्ने मुस्किल छ ।” उहाँ १३ वर्ष भारतमा मजदुरी गरेर नेपाल फर्किनुभएको हो ।

दुई दशकदेखि घनघोर जङ्गल र पुलको छेउमा बसोबास गर्दै आए पनि आफूहरुको पुन:स्थापनाको चासो सरकारले नदिएको उहाँको गुनासो छ ।  त्यसैगरी यहाँ बस्दै आउनुभएका तुलाराम बोहराले सुरक्षित बसोबासको आश गरेको दुई दशक बितेको छ ।

निर्वाचनका समयमा आउने नेताहरुले सुरक्षित बसोबासको व्यवस्था गर्ने बाचा गरेको एक दशक बितेको उहाँ बताउनुहुन्छ । “आश्वासन दिएर जान्छन् । त्यसपछि अर्को निर्वाचनसम्म देखिदैनन्”, उहाँले भन्नुभयो, “यहाँका बालबालिकाले विद्यालय जान पाएका छैनन् ।” सरकारले माध्यमिक तहसम्म नि:शुल्क शिक्षा प्रदान गर्ने भने पनि विभिन्न बहानामा लिइने शुल्क तिर्न नसक्दा यहाँका बालबालिका पढाइबाट वञ्जित छन् । शुक्लाफाँटा नगरपालिकाले सुकुम्वासीहरुलाई निस्सा वितरण गरे पनि आवासका लागि जग्गा उपलब्ध गराउन सकेको छैन । रासस