१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरोले देशका आठ मुख्य सडक पूर्ण रूपमा अवरुद्ध



अ+ अ-

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी बर्षा भईरहेको छ । वर्षासँगै देशभर ८ स्थानका मुख्य राजमार्ग तथा सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक विभागका अनुसार आइतबार मात्रै देशभर ८ स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ८९ स्थानमा एकतर्फी सञ्चालन छन् । अरनिको, मेची, कोशी राजमार्ग लगायतका सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

आइतबार अरनिको राजमार्गअन्तर्गत दोलालघाट–खाडीचौर–कोदारी सडकअन्तर्गत सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले सडक अवरुद्ध भएको छ । यसैगरी मेची राजमार्गको गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोलामा सडक खण्डअन्तर्गत हेवा खोलामा बाढि आउदा पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

भेडेटार रवि राँके सडक धनकुटामा उपकरण तैनाथ गरी सडक खुलाउने प्रयास भएको जनाइएको छ । तानसेन–सिडी–कोरला सडक अन्तर्गत मुस्ताङको भेना गाउँमा लेदोसहितको पहिरो आएकोले सडक अवरुद्ध छ । अहिले ब्याकहोइ मेशिन परिचालन गरी उक्त पहिरो पन्छाउने काम भइरहेको छ ।

यस्तै कोशी राजमार्गको तुम्लिङटार–खाँदबारी–किमाथांका सडक खण्डअन्तर्गत सङ्खुवासभाको देउरालीमा पनि पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

साथै शहिदमार्गको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङलुकुम सडक खण्डअन्तर्गत रोल्पामा लेदोसहितको माटो आएकाले सडक अवरुद्ध भएको छ ।

यस्तै, विभागले असार २९ गते कोशी राजमार्गको तुम्लिङ्टार–खाँदबारी–नुम–किमाथांका सडकअन्तर्गत सङ्खुवासभाको वरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माण ढलानको कार्य भईरहेको जनाएको छ ।

यस्तै, असार २४ गते आएको बाढीले स्याफ्रुवेसी–रसुवागढी सडक अवरुद्ध भएकोमा सडक खुलाउने प्रयास भइरहेको छ ।