८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने

इजरायलद्वारा इरानमाथि आक्रमण, बदला लिने तेहरानको वाचा

इजरायलद्वारा इरानमाथि आक्रमण, बदला लिने तेहरानको वाचा
अ+ अ-

इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इजरायललाई उसले आक्रमणका लागि ‘कटु र पीडादायक’ भाग्यको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ । इरानी मिडियाका अनुसार आक्रमणमा एक वरिष्ठ गार्ड कमान्डरको पनि मृत्यु भएको छ ।

इजरायली सेनाका अनुसार इरानले इजरायलतर्फ प्रतिक्रियामा एक सय वटा ड्रोन प्रक्षेपण गरेको र तिनलाई इजरायली रक्षा प्रणालीले रोक्न कोशिश गरिरहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई उहाँलाई इजरायली आक्रमणको पूर्व जानकारी रहेको बताउनुभएको छ । इजरायली सेनाका अनुसार आक्रमणमा दुई सय वटा लडाकू विमान संलग्न थिए । ट्रम्पले तेहरानसँग ‘आणविक बम राख्न सक्दैन’ भनी पनि जोड दिनुभयो ।

संयुक्त राज्य अमेरिकाले पनि इजरायली कारबाहीमा संलग्न नभएको स्पष्ट गरेको छ र तेहरानलाई आफ्ना कर्मचारी वा स्वार्थहरूमाथि आक्रमण नगर्न चेतावनी दिएको छ । तर तेहरानले इजरायलको अपरेसन ‘संयुक्त राज्य अमेरिकाको समन्वय र अनुमति बिना गर्न सकिँदैन’ भन्दै संयुक्त राज्य अमेरिका ‘परिणामका लागि जिम्मेवार हुनेछ’ भनेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलको अपरेसनले ‘इरानको आणविक संवर्धन कार्यक्रमको मुटु’मा प्रहार गरेको र नतान्जका आणविक सुविधा र आणविक वैज्ञानिकहरूलाई लक्षित गरेको बताउनुभयो । उहाँले इरान विरुद्धको अपरेसन ‘जति दिन लाग्छ त्यति दिन जारी रहनेछ’ भन्नुभयो । पछि भिडियो वक्तव्यमा उहाँले प्रारम्भिक आक्रमणहरू ‘अत्यन्त सफल’ थिए भन्नुभयो ।

इजरायली कारबाहीमा इरानको रिभोलुसनरी गार्ड्सका नेता हुसेन सलामी र सशस्त्र बलका चिफ अफ स्टाफ मोहम्मद बघेरी मारिएको इरानी मिडियाले जनाएको छ ।

इरानी राज्य मिडियाले तेहरानमा आवासीय भवनहरूमा पनि आक्रमण भएको र महिला तथा बालबालिका सहित धेरै नागरिकको मृत्यु भएको बताएको छ । तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल इमाम खोमेनीमा हवाई यातायात बन्द गरिएको छ भने छिमेकी इराकले पनि आफ्नो हवाई क्षेत्र बन्द गरी सबै विमानस्थलमा सबै उडान स्थगित गरेको सरकारी मिडियाले जनाएको छ ।

रक्षामन्त्री इजरायल काट्जले तेहरानबाट जवाफी कारबाहीको अपेक्षा गर्दै इजरायलले आपत्कालीन अवस्था घोषणा गरेको र आफ्नो हवाई क्षेत्र बन्द गरेको बताउनुभयो । “इरानविरुद्ध इजरायलको पूर्वनियोजित हमलापछि इजरायल राज्य र यसको नागरिक जनसङ्ख्या विरुद्ध मिसाइल र ड्रोन आक्रमण निकट भविष्यमा हुने अपेक्षा गरिएको छ”, काट्जले भन्नुभयो ।

इजरायली सेनाले इरानसँग ‘कुनै पनि मिनेट’ इजरायलमा आक्रमण गर्ने क्षमता रहेको विश्वास गरेको एक इजरायली सैन्य अधिकारीले बताए ।

सम्झौता बिग्रिन सक्छ 

इजरायली आक्रमणपछि तेलको मूल्य १२ प्रतिशतले बढेको छ भने सेयर बजार घटेको छ । यो आक्रमण यस क्षेत्रमा ‘ठूलो द्वन्द्व’ को ट्रम्पको चेतावनीपछि आएको हो । यदि द्वन्द्व सुरु भयो भने इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्ने धम्की दिएपछि अमेरिकाले मध्यपूर्वमा कर्मचारीहरू कम गरिरहेको पनि ट्रम्पले बताउनुभएको थियो ।

ट्रम्पले इरानको आणविक कार्यक्रममा ‘धेरै राम्रो’ सम्झौता ‘धेरै नजिक’ भएको विश्वास गरेको तर आफ्नो कट्टर शत्रुमाथि इजरायली आक्रमणले सम्झौताको सम्भावनालाई बिगार्न सक्ने बताउनुभयो । उहाँले सोमबार नेतान्याहुसँगको कुराकानीको विवरण खुलासा गर्नुभएन, तर भन्नुभयो, “म तिनीहरूलाई भित्र जान चाहन्नँ, किनकि मलाई लाग्छ यसले यसलाई बिगार्नेछ ।”

ट्रम्पले तुरुन्तै भन्नुभयो, “यसले वास्तवमा मद्दत गर्न सक्छ, तर यसले यसलाई बिगार्न पनि सक्छ ।”

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणमा वासिङ्टन संलग्न नरहेको भन्दै इरानलाई अमेरिकी अड्डाहरूमा आक्रमण गरेर इजरायली आक्रमणको जवाफ नदिन चेतावनी दिनुभयो । “मलाई स्पष्ट हुन दिनुहोस्ः इरानले अमेरिकी हित वा कर्मचारीहरूलाई लक्षित गर्नु हुँदैन”, रुबियोले एक विज्ञप्तिमा भन्नुभयो ।

शुक्रबारको आक्रमणअघि इरानले द्वन्द्व सुरु भएमा मध्यपूर्वका अमेरिकी अड्डाहरूमा आक्रमण गर्ने धम्की दिएको थियो ।“यसका सबै आधारहरू हाम्रो पहुँचभित्र छन्, हामीसँग तिनीहरूसम्म पहुँच छ र कुनै हिचकिचाहट बिना हामी ती सबैलाई आयोजक देशहरूमा लक्षित गर्नेछौँ”, इरानका रक्षामन्त्री अजिज नासिरजादेहले यस हप्ता भन्नुभयो ।

हिंसाबाट अमेरिका र इरानबीचको छैटौँ चरणको वार्ता आइतबार ओमानमा हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको अवस्थामा ट्रम्पले वासिङ्टन अझै पनि ‘वार्ताको टेबलमा फर्कने आशा गरिरहेको छ’ भन्नुभयो ।

नतान्ज लक्ष्यहरूमध्ये एक भएको पुष्टि गर्दै संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाले यो स्थितिलाई ‘नजिकबाट निगरानी’ गरिरहेको बताएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएइए० का प्रमुख राफेल ग्रोसीले भन्नुभयो, “एजेन्सी विकिरणको स्तरको सम्बन्धमा इरानी अधिकारीहरूसँग सम्पर्कमा छ । हामी देशमा रहेका हाम्रा निरीक्षकहरूसँग पनि सम्पर्कमा छौँ ।”

चरमपन्थी 

अमेरिकी सैन्य र कूटनीतिक समर्थनमा भर पर्ने इजरायलले इरानलाई अस्तित्वको खतराका रूपमा हेर्छ । नेतान्याहुले सन् २०२३ अक्टोबर ७ मा तेहरान समर्थित हमासले इजरायलमा गरेको अभूतपूर्व आक्रमणपछि कम संयम अपनाउने वाचा गर्नुभएको छ । हमासको आक्रमणपछि गाजामा ठूलो इजरायली आक्रमण सुरु गर्‍यो ।

हमासको आक्रमणपछि इरान र इजरायलले पहिलोपटक प्रत्यक्ष आक्रमण गरेका छन् । इजरायलसँगै संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशहरूले बारम्बार इरानलाई आणविक हतियार खोजेको आरोप लगाएका छन् । उक्त आरोपलाई इरानले बारम्बार अस्वीकार गरेको छ ।

बुधबार आइएइएले इरानलाई आफ्नो दायित्वको पालना नगरेको आरोप लगाएपछि इजरायलले फेरि विश्वव्यापी कारबाहीको आह्वान गरेको छ । इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले प्रस्तावलाई ‘चरमपन्थी’ भनेर निन्दा गर्दै इजरायली प्रभावलाई दोष दिनुभयो ।

प्रतिक्रियामा इरानले सुरक्षित स्थानमा नयाँ संवर्धन केन्द्र सुरु गर्ने बताएको छ ।

इरानले हाल युरेनियमलाई ६० प्रतिशतमा संवर्धन गर्छ । यो सन् २०१५ को सम्झौतामा तोकिएको तीन दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै माथि छ र आणविक हतियारका लागि आवश्यक ९० प्रतिशतको नजिक भए पनि अझै पनि कम छ ।