११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

बगरमा तरबुजाखेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

बगरमा तरबुजाखेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार
अ अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन् । बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन् ।

बगरमा १०० बढी परिवारले उत्पादन गरेका तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन् । यी टहराबाट उनीहरुले तरबुजालगायत फल बिक्री गर्दै आएका छन् । साँझबिहान राजमार्गमा निकै भीडभाड हुने गरेको छ । यो भीड तरबुजा र काँक्रो खरिद गर्ने ग्राहकको हो ।

छ वर्षदेखि बगरमा खेती गर्दै आएका शिवलाल रानाले राजमार्ग छेउको कारोबारले वर्षभरिको घरको खर्च चल्ने बताउनुभयो । तरबुजालगायत फल बिक्री गरेर दैनिक रु दुई हजारदेखि रु तीन हजार ५०० सम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

वैशाखदेखि असारसम्म रु तीन लाखदेखि रु पाँच लाखसम्मको कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो । “बढी उत्पादन गर्ने परिवारले बढी आम्दानी गर्छन्”, उहाँले भन्नुभयो, “थोरै उत्पादन गर्नेको थोरै आम्दानी हुन्छ ।”

पन्ध्र वर्षदेखि बगरखेतीमा संलग्न बिरा रानाले बगरमा उत्पादन भएको लौका, तरबुजा बिक्री गरी सकेपछि पुनः स्थापना गरिँदा पाइएको जग्गामा पनि खेती गरेकाले तीन महिना सडकमा बसेर तरबुजाको कारोबार गर्दै आएको बताउनुभयो ।

“कमैयामुक्तिको घोषणापछि वनहरा नदी छेउको जग्गामा पुनः स्थापना गरिँदा घर निर्माण र खेतीका लागि दश कट्ठा जग्गा उपलब्ध गराइएको थियो”, उहाँले भन्नुभयो, “जग्गामा लगाएको अन्नबालीले चार महिना पनि खान नपुग्ने भएपछि केही वर्ष मजदुरी गरेरै जीविका चलायौँ ।”

“अन्य नदी बगरमा तरबुजा, काँक्रो रोपेको देख्यौँ, हामीले पनि सिक्यौँ, त्यसपछि मजदुरी गर्न छाडेर यसमै भविष्यका सपना बुन्न थाल्यौँ, तरबुजा फलेका छन् । यो खेतीलाई निरन्तरता दिँदै आएका छौँ”, उहाँले भन्नुभयो । घर खर्च सहज रुपमा चलेकाले अरुसँग ऋण लिनुपर्ने अवस्था अन्त्य भएको उहाँ बताउनुहुन्छ ।

राजमार्ग छेउमै बसेर १४ वर्षीया अस्मिता रानाले पनि तरबुजा बेच्दै आउनुभएको छ । “बिहान विद्यालय जान्छु”, उहाँले भन्नुभयो, “त्यसबेला आमाले टहराबाट बेच्नुहुन्छ, विद्यालयबाट फर्केपछि म बेच्छु ।”

टहरामा बसेर तरबुजा बेचेर आउने आम्दानीको केही हिस्सा घर खर्चका लागि राखेर अरु पैसा विद्यालयमा आवश्यक पर्ने पोसाक, कापी कलमलगायतमा खर्च हुने गरेको उहाँले उल्लेख गर्नुभयो । वनहरा मुक्तकमैया बस्तीकै ४० वर्षीया पूजा रानाले एक दशकदेखि राजमार्ग छेउमा तरबुजालगायत बिक्री गर्दै आउनुभएको छ ।

वनहरा नदीको बगरमा उहाँले दश कट्ठा जग्गामा तरबुजाखेती गर्नुभएको छ । “वैशाख महिनाको पहिलो हप्तादेखि बेच्न सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म रु ६५ हजारभन्दा बढीको बिक्री गरिसकेका छौँ ।” उहाँका अनुसार प्रतिकिलो तरबुजा रु ३० देखि रु ४० सम्ममा बिक्री हुने गरेको छ ।

बीउबिजन र रासायनिक मलमा गरेर रु ३० देखि ४० हजार तरबुजाखेतीमा भएको थेग्रा राना बताउनुहुन्छ । रानाले बर्सेनि रु पाँच लाख बढी मुनाफा आर्जन गर्दै आएको बताउनुभयो । उहाँले यो महिनामा २० क्विन्टल काँक्रो र ६० क्विन्टल तरबुजा बिक्री गरिसक्नुभएको छ ।

“बिहान बगरबाट टिपेर राखेको तरबुजा तथा साजसब्जी साँझ नपर्दै सकिन्छ”, नन्दलाल रानाले भन्नुभयो, “बढ्दो गर्मीका कारण ग्राहकले बढी माग गर्ने गरेका छन् ।” “अरु क्षेत्रमा बेच्न लैजाँदा ढुवानी खर्च लाग्छ, निकै श्रम गर्नुपर्छ, घर नजिकैको राजमार्गमा सहजै बिक्री हुने भएपछि त्यहीँ टहरा बसेर बच्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।

पहिले इँटाभट्टामा काम गर्दै आएका तौला राना बगरखेतीबाट मनग्गे आम्दानी हुने थाहा पाएपछि मजदुरी गर्न छाडेर तरबुजाको खेतीमा संलग्न भएको बताउनुहुन्छ । वनहराबाहेक अन्य क्षेत्रका व्यापारीलाई भने त्यस क्षेत्रमा तरबुजा बेच्न भने नपाइने नियम मुक्तकमैयाले बनाएका छन् ।

तरबुजा खरिद गर्न राजमार्ग छेउ पुगेका अमरपुरका अमरबहादुर ऐर वनहराका तरबुजा रसिला हुने हुँदा प्रत्येक वर्ष खरिद गरेर लैजाने गरेको बताउनुहुन्छ ।

“अरु ठाउँको भन्दा यहाँका तरबुजा मीठा र सस्ता छन् । त्यसैले हामी तरबुजा खरिद गर्न हरेक वर्ष यहाँ आउँछौँ”, उहाँले भन्नुभयो । रासस