९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

‘हाइ एन्ड’ पर्यटक आकर्षित गर्दै मेघौली

‘हाइ एन्ड’ पर्यटक आकर्षित गर्दै मेघौली
अ अ+ अ-

मेघौली । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका आरामदायी रिसोर्टहरुमा पुग्थे । जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन्द्र थियो ।

पर्यटन क्षेत्रका लागि ‘हाइ इन्ड’ भनिने धनी पर्यटकका लागि त्यहाँसम्म पुर्याउनका लागि मेघौलीमा विमानस्थल नै बनाइएको थियो । काठमाडौँबाट हेलिकप्टर तथा ट्विनअटर विमानबाट उनीहरु मेघौली विमानस्थल पुग्थे र त्यहाँबाट जङ्गल प्रवेश गर्दथे । जानकारहरुका अनुसार त्यो समयमा विमानस्थलमा दैनिक १० वटासम्म उडान हुन्थे । अहिले उक्त विमानस्थलमा कहिलेकाहीँ नेपाली सेनाले प्याराजम्पिङ गर्दै आएको छ ।

टाइगर टप्समा एक रात बिताउनका लागि त्यो समयमा पर्यटकले ५०० अमेरिकी डलरसम्म तिर्दथे । विसं २०२० मा अमेरिकी नागरिक टुडी ली वाने र हेर्ब केलिनले टाइगर टप्स स्थापना गरेका थिए भने २०२८ सालमा बेलायती नागरिक जिम एवर्डस्ले खरिद गरी सञ्चालन गरेका थिए । पर्यटकहरु टाइगर टप्समा बस्ने र मेघौलीको जङ्गली जनावरको सिकार गर्दथे । टाइगर टप्समा बेलायतकी महारानी एलिजाबेथ, बेलायतका तत्कालीन युवराज फिलिप, अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलगायतका प्रतिष्ठित व्यक्तिहरु आएका थिए ।

विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि त्यहाँ जाने पर्यटक अझ बढेका थिए । तर २०६९ सालमा स्पष्ट कानुनको अभावमा निकुञ्जभित्र रहेका रिसोर्ट बन्द भए । अहिले टाइगर टप्स मात्रै होइन, निकुञ्जभित्र सञ्चालनमा रहेका मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जङ्गल लज, आइल्याड जङ्गल रिसोर्ट, टेम्पल टाइगर रिसोर्र्ट, गैँडा वाइल्ड लाइफ क्याम्प बन्द भएका छन् । टाइगर टप्सले अझै पनि रेखदेखका दुई वटा हात्तीसहित कर्मचारी खटाइरहेको स्थानीय बताउँछन् । निकुञ्जभित्रका रिसोर्ट बन्द भएसँगै मेघौलीमा खर्चालु पर्यटकको सङ्ख्या पनि घट्न थाल्यो । त्यहाँ आइरहेका पर्यटक अफ्रिकी मुलुकतर्फ आकर्षित भए । त्यसपछि मेघौलीको वाइल्डलाइफ पर्यटनमा उल्लेख्य गिरावट आयो ।

यद्यपि पछिल्ला केही वर्षयता मेघौलीमा पुनःलक्जरी टुरिजमको विकास हुन थालेको सङ्केत देखिएको छ । निकुञ्जसँगै बग्ने राप्ती नदी किनारमा आरामदायी होटल तथा रिसोर्ट सञ्चालनमा आउनेक्रम बढेको छ । ती रिसोर्टमार्फत हाइ इन्ड अर्थात् खर्चालु पर्यटक बढेका छन् । यसले मेघौलीको पर्यटनलाई पुनःजीवित गर्ने सङ्केत दिएको छ ।

मेघौलीमा पर्यटक बढ्न वाइल्डलाइफमा रुचि राख्ने हाइ इन्ड पर्यटक बढ्न थालेपछि रिसोर्टमा लगानी गर्ने पनि बढेका छन् । पछिल्लो समय मेघौलीमा पर्यटक बढ्न थालेको र लगानी पनि बढ्दै गएकाले आगामी दिनमा मेघौली लक्जरी पर्यटनका लागि प्रमुख गन्तव्य बन्ने विश्वास रहेको बताउनुहुन्छ, सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले हालै मेघौलीमा सिद्धार्थ वाइल्ड लाइफ रिट्रिट सञ्चालनमा ल्याएको छ ।

यसअघि साराङ वाइल्डलाइफ स्याङचुरी रिसोर्टका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थले सिद्धार्थ वाइल्ड लाइफ रिट्रिटका रुपमा सञ्चालनमा ल्याएको हो । “चितवनको मेघौली वाइल्डलाइफ टुरिजमका लागि निकै राम्रो गन्तव्य हो भन्ने लाग्छ, पछिल्लो समय यो सोहीअनुसार विकास पनि भइरहेको छ, विभिन्न प्रजातिको चराचुरुङ्गीको चिरबिरदेखि प्रकृतिमा रमाउन चाहनेका लागि यो सबैभन्दा उत्तम विकल्प बनेको छ”, उहाँले भन्नुभयो ।

राप्ती र नारायणी नदीले घेरिएको मेघौली सुन्दर टापु । यहाँ थारु र कुमाल समुदायको बाहुल्य छ । आगन्तुकहरुले राप्ती नदीमा डुङ्गामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मजा लिन सक्छन् भने नदी किनारमा हात्तीसँग नुहाउने पनि सुविधा छ । बिहानै हात्ती तथा जिपमा जङ्गल सफारी गरी जङ्गली हात्ती, गैँडा, बाघ, मयुँर, बँदेल, विभिन्न प्रजातिका मृगका साथै करिब ५०० भन्दाबढी प्रजातिका चरा पनि देख्न सकिन्छ । यो क्षेत्र जङ्गली वन्यजन्तुका हिसाबले खुला चिडियाखाना सहर छ ।

चितवनको भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिममा पर्ने मेघौलीसम्म पुग्नका लागि कालोपत्र सडकको सुविधा छ । निकुञ्जको किनार हुँदै कलकल बग्ने राप्ती नदी छ । नदीमा डुङ्गा सयर गर्दै विभिन्न प्रजातिका चरा र जङ्गली जनावर हेर्ने सुविधाले जो–कोहीलाई रोमाञ्चक बनाउँछ । राप्ती र नारायणी नदीको सङ्गम रहेको गोलाघाट सूर्यास्तका लागि प्रख्यात छ । जहाँ हरेक साँझ आन्तरिक र बाह्य पर्यटकहरु पाल टाँगेर सूर्यास्तको दृश्य हेर्दै रात्रिभोजको रमाइलो गरिरहेको देख्न सकिन्छ ।

मेघौली चराचुरुङ्गीको चिरबिर आवाजले मात्रै होइन एकसिङ्गे गैँडा, नदी किनारमा घाम ताप्ने गोहीले जो कोही पर्यटकलाई आकर्षित गर्छन् । त्यतिमात्रै होइन, प्रकृतिमा चासो राख्नेहरु, अध्ययनकर्ताहरुलाई पनि यसले आकर्षित गरिरहेको छ । त्यसैले त प्रकृतिको सुन्दरता र शान्त वातावरणमा रमाउन चाहने पर्यटकहरु पछिल्लो समय मेघौली पुग्ने गरेका छन् । मेघौलीको पर्यटन प्रवद्र्धन हुन थालेसँगै यहाँको थारु तथा कुमालको संस्कृतिक संरक्षणका साथै रैथाने खाना प्रवद्र्धन भइरहेको मेघौली पर्यटन विकास समितिका अध्यक्ष राजु भुसालको भनाइ छ । “पछिल्ला केही वर्षयता मेघौलीमा खर्चालु पर्यटक बढ्न थालेका छन्, यसले यहाँको रैथाने खाना र संस्कृति प्रवद्र्धनमा सहयोग पुगेको छ, बढ्दो पर्यटक र लगानीले मेघौलीको पर्यटनलाई पुनर्जीवन दिन्छ भन्ने लागेको छ”, उहाँले बताउनुभयो ।

उहाँका अनुसार मेघौलीमा थारु र कुमाल समुदायले घरबास ९होमस्टे० सञ्चालनमा ल्याएका छन् । यसले उनीहरुको आम्दानी बढाएको छ भने मेघौलीको पर्यटन क्षेत्रको विकासमा सहयोग गरेको छ । “प्राकृतिक सुन्दरता, वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न, जैविक विविधताका क्षेत्रमा मेघौलीमा ठूलो सम्भावना छ, पर्यटनमार्फत यहाँको संस्कृति, परम्परा र रहनसहनको संरक्षणमा ठूलो सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

भुसालका अनुसार टाइगर टप्सलगायतका रिसोर्ट सञ्चालनमा हुँदासम्म मेघौली पर्यटनको गन्तव्यमात्रै थिएन, यहाँ अन्तरराष्ट्रिय हात्ती पोलो खेल पनि आयोजना हुन्थ्यो । तर टाइगर टप्सलगायतका रिसोर्ट बन्द भएसँगै उक्त खेल पनि बन्द भएको छ । रिसोर्टहरु बन्द भएपछि स्थानीयको उत्पादन बिक्री भएन भने सयौँको सङ्ख्यामा स्थानीयले रोजगारी पनि गुमाए ।

निकुञ्जभित्रका रिसोर्ट बन्द भएपछि मेघौलीमा २०७३ सालमा चौधरी ग्रुपको मेघौली सेराइ ए ताज सफारी लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ भने २०७० सालमा बाराही ग्रुपको बाराही जङ्गल लज सञ्चालनमा छ । मेघौलीमा पर्यटकीय गतिविधि बढ्न थालेपछि युरोपियन होटलहरुको समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप ९आइएचजी०ले रु एक अर्बभन्दा बढी लगानीमा लस्ट होराइजन सफारी रिसोर्ट एण्ड स्पा प्रालि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । हाल उक्त रिसोर्ट मेघौलीको राप्ती नदी किनारमा निर्माणाधीन छ ।

ठूलो लगानीमा मेघौलीमा रिसोर्टहरु सञ्चालनमा आउन थालेपछि गुणस्तरीय पर्यटकका  लागि मेघौली पहिले रोजाइको गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यी रिसोर्टहरुले अधिकतम् ७०० अमेरिकी डलरसम्म एक दिनको प्याकेज बिक्री गरिरहेका छन् । मेघौली सौराहको तुलनामा निकै शान्त छ । सौराहमा जस्तो भीड पनि छैन । यहाँ पर्यटकहरु शान्त वातावरणमा प्रकृतिसँग रमाउन पाउँछन् ।

मेघौली पर्यटन विकास समितिले यहाँ बेतारी खोला परियोजनाका नाममा बोटिङ सञ्चालन गर्ने योजना बनाएको छ । समितिले आर्थिक वर्ष २०८२/८३ मा यसको विस्तृत अध्ययन प्रतिवेदन तयार पारी निर्माण सुरु गर्ने योजना बनाएको जनाएको छ । हाल मेघौलीमा साना र ठूला गरी करिब २० वटा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् भने केही घरबास पनि छन् ।

मेघौलीलाई लक्षित गरी विगत दुई दशकदेखि पर्यटक पथप्रदर्शकका रुपमा कार्यरत मनिष लिम्बू यो क्षेत्र वन्यजन्तु तथा जैविक विविधताका लागि उत्कृष्ट भएको बताउनुहुन्छ । “अहिले अधिकांश पर्यटकहरु वन्यजन्तु अवलोकन गर्न, विभिन्न प्रजातिको चरा हेर्न तथा अध्ययन गर्न, जङ्गल वाक तथा सूर्यास्तका लागि मेघौली आउन थालेका छन्”, उहाँले भन्नुभयो, “मौसम सफा भएको समयमा यहाँबाट माछापुच्छ«ेलगायतका हिमालसमेत देख्न सकिन्छ ।”

बिहानदेखि सुनिने विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरबिरदेखि जिप र हात्ती सफारी गरी चितवन राष्ट्रिय निकुञ्ज एक्सप्लोरका लागि मेघौली पहिलो रोजाइको गन्तव्य बन्न थालेको छ । रिसोर्टहरुले पनि बोटिङ, जङ्गल वाकका साथै जङ्गल सफारीजस्ता सुविधालाई लक्जरी प्याकेजमा समावेश गर्दै आएका छन् । जङ्गल सफारीका लागि रिसोर्टहरुले हात्ती पालेका छन् । हात्ती सफारीका साथै हात्तीसँग दिन बिताउनका लागि पनि पर्यटकहरु मेघौली पुग्न थालेका छन् ।