२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिममा राजधानी, गल्ती कहाँ कहाँ ?



अ+ अ-

काठमाडौं । मान्नुस्रनमान्नुस्– लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ।

विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका।

गल्ती १ : नाका बन्द गर्न ढिलाइ

सीमापारि देखिएको कोरोना नेपालमा भित्रिने जोखिम भए पनि तत्काल सीमा नाका बन्द नगर्नु सरकारको पहिलो गल्ती थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘चीनपछि नेपाल दोस्रो संक्रमित मुलुक होइन। भारतमा महामारी फैलन सुरु हुनेबित्तिकै नेपालीहरू स्वदेश फर्कन्छन् भनेर सचेत नहुनु, नाका अव्यवस्थित हुनु पहिलो कमजारी हो।’ तिनै नाका हुँदै भित्रिने संक्रमितको संख्या बढ्दै जाँदा राजधानी जोखिममा परेको हो।

गल्ती २ : अनुशासनहीन नागरिक

कोरोना संक्रमणलाई लिएर हामी सरकारप्रति मात्रै खनिन्छौं तर आफ्नो लापरवाही देख्दैनौं। लकडाउन अवज्ञा गर्ने, मास्क नलगाई हिँड्ने र स्यानिटाइजर प्रयोग नगर्ने, क्वारेन्टाइनबाट भाग्ने, दूरी कायम नगर्ने, हुलहुज्जत गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलगायत गतिविधि उत्तिकै कारक छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाउन भनिरहेका छौं। हेलचेक्र्याइँ गर्दा कोभिड–१९ का बिरामी बढेर अस्पतालमा बेड नपाउने सम्भावना हुन्छ। आईसीयू नपाउन सक्छ।’ उनका अनुसार मास्क प्रयोग नगर्ने दुई लाख जनालाई कारबाही गरिएको छ। १६ हजार मास्क बाटोमा बाँडिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे पीसीआर परीक्षणमा ठेगाना गलत लेख्ने, मोबाइल स्विच अफ गर्ने प्रवृत्तिले कन्ट्याक्ट ट्रसिङमा समस्या परिरहेको बताउँछन्।

गल्ती ३ : अपुरो परीक्षण

आरडीटीलाई डायग्नोस्टिक टेस्टका रूपमा लिएर सुरुमै परीक्षण गराउनु अर्को गल्ती थियो। आरडीटी र पीसीआर परीक्षण गर्ने सवालमा सरकार अलमलमा रह्यो। अमेरिकाको टेक्सासस्थित सोनिक रेफरेन्स ल्याबको क्लिनिकल मोलिकुलर बायोलोजी विभागका निर्देशक डा। विजय ढकाल सुरुमै आरडीटी गर्नु त्रुटि भएको बताउँछन्। भन्छन्, ‘त्यसले खर्च मात्र बढायो। नाकाबाट आएका नेपालीलाई सिधै पीसीआर परीक्षण गरिनुपर्थ्यो।’

टेक्सासकै सोनिक हेल्थ केयर क्लिनिकल प्याथोलोजी ल्याबोरेटरिज प्रयोगशालाका सुपरभाइजर डा. द्रोण पाण्डेयका अनुसार आरडीटी भनेको र्‍यापिड एन्टिबडी टेस्ट हो। ‘त्यो आरटी हो। आरडीटी भनियो। समुदायमा फैलिसकेको अवस्थामा परीक्षण गर्ने हो। तर, सुरुमै परीक्षण गरियो’, उनी भन्छन्।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितका अनुसार पीसीआर परीक्षण नबढाउँदा संक्रमणको जोखिम बढेको हो।

गल्ती ४ : खचाखच क्वारेन्टाइन

विदेशमा महामारी फैलिएपछि नेपाली नागरिक स्वदेश फर्किन थाले। तब हतारहतार क्वारेन्टाइन बनाइयो, जसले गर्दा स्थिति भद्रगोल बन्यो। संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बनाइएन। ‘क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सकिएन। त्यहाँ दूरी कायम गरिएन’, उनी भन्छन्। क्वारेन्टाइनबाट संक्रमित भाग्ने, एकअर्कामा संक्रमण सर्ने घटना हुनु गल्ती थियो।

गल्ती ४ : विपद्मा धन्दा

विपद्का बेला पनि तालुकदार स्वास्थ्य मन्त्रालयको नेतृत्व कमाउने धन्दामा उद्यत् देखियो। मन्त्रालय र स्वास्थ्य सेवा विभागमा सरुवा प्रकरण मात्र होइन, स्वास्थ्य सामग्री खरिदमा अनियमितताको प्रश्न उठ्यो। विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नै संलग्न हुनु कानुनविपरीत रहेको प्रतिवेदन सार्वजनिक खरिद अनुगमन कार्यालयले संसदीय समितिलाई पठाएको छ। मन्त्री ढकाल र उनका विज्ञ सल्लाहकार डा। खेम कार्कीको संलग्नतामा ओम्नीलाई १ अर्ब २४ करोड रुपैयाँको ठेक्का दिइएको थियो।

गल्ती ६ : नाकामा खोइ होल्डिङ सेन्टर ?     

उपत्यका भित्रिएकामध्ये सयौंलाई कोरोना पोजिटिभ देखिएको छ। उनीहरूलाई निर्वाध रूपमा भित्रिन दिएर सरकार चुकेको विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल बताउँछन्। भन्छन्, ‘उपत्यकाका चारवटै नाकामा होल्डिङ सेन्टर बनाउनुपर्थ्यो। त्यसमा सबैको पीसीआर परीक्षण गर्नुपर्थ्यो। कोरोना पोजिटिभलाई सुरुमै अस्पताल लगेर राखेको भए भयावह हुने थिएन।’ फर्पिङ, थानकोट, साँगा नाकाबाट पछिल्लो साता पीसीआर परीक्षण गर्न ४ हजार ८ सय १३ नमुना संकलन गरिएको छ। जसमध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

गल्ती ७ : पासको दुरुपयोग

लकडाउनसँगै सरकारले सवारी आवागमनका लागि पासको व्यवस्था गर्यो। तर, त्यही पास पनि कतिपयले दुरुपयोग गरे। इलामबाट काठमाडौं आएका भरत न्यौपाने भन्छन्, ‘गाडीले नै निजी पास बनाएको रहेछ। हाम्रो पनि उसैले बनाइदियो। चेक प्वाइन्टमा पास देखाइयो।’ अनेक बहाना बनाएर काठमाडौं भित्रिनेको कोरोना परीक्षण पनि गरिएन। परीक्षण गर्नेले पनि गलत ठेगाना टिपाए। पोजिटिभ देखिएको अवस्थामा सम्पर्कविहीन भए।

साउन १५ गतेदेखि साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुको आवागमन पूर्णरूपमा बन्द गराउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयमा निर्देशन जारी गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जनाएका छन्। काठमाडौं उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यक कामबाहेक अन्तरजिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तरजिल्ला आवागमन पूर्णरूपमा बन्द गर्न गराउन निर्देशन दिइएको छ।

गल्ती ८ :अपर्याप्त पूर्वाधार एवं जनशक्ति

सरकारले क्वारेन्टाइन, आइसोलेसन, भेन्टिलेटरलगायत पूर्वाधार निर्माणमा ढिलासुस्ती गर्यो। नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, ‘लकडाउन अवधिमा पूर्वाधार र पर्याप्त जनशक्तिको व्यवस्था गर्नुपर्थ्यो। त्यसमा सरकार चुकेको देखियो।’

भेन्टिलेटर अभावमा कतिपय संक्रमितको ज्यान गयो। मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल भन्छन्, ‘अहिले पनि पहाडी जिल्लामा भेन्टिलेटर छैन। दक्ष जनशक्ति पनि छैनन्।’ कोरोना उपचारमा खटिएका चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई समयमै तलब, भत्ता दिएर मनोबल उकास्नुपर्नेमा सरकारले त्यसो गरेन। डा. कार्की भन्छन, ‘अवकाश पाएका विज्ञ तथा स्वास्थ्यकर्मीलाई समेत परिचालन गर्न समेत सकेन।’

गल्ती ९ : समन्वय अभाव

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन सकेन। संघमा पनि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, महाशाखाबीच समन्वय र सहकार्य अभाव भयो। मन्त्रालयगत समन्वय तथा सहकार्य हुन सकेन। विज्ञको रायसल्लाह लिन, जनशक्ति परिचालन पनि प्रभावकारी भएन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन्, ‘सरोकारवाला निकाय एवं पक्षबीच समन्वय हुन सकेन।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की सरकारले निजी क्षेत्रलाई पीसीआर परीक्षणको अनुमति दिन ढिलाइ गरेको बताउँछन्। भन्छन्, ‘न आफूले पर्याप्त परीक्षण गर्न सक्यो न त समयमै निजी क्षेत्रलाई परीक्षणको अनुमति दियो।’

गल्ती १० : सूचनामा पहुँचै पुगेन

विपद्का अवस्थामा सूचना व्यवस्थापन सबैभन्दा भरपर्दो मानिन्छ। मन्त्रालयअन्तर्गतका निकायबीच सूचना व्यवस्थापन र प्रवाह नै भएन। सूचना प्रवाह नेपाली भाषाका साथै विविध भाषाभाषीमा सम्प्रेषण गर्नुपर्थ्यो।

सञ्चारमाध्यमलाई उपायोग गर्नु साटो मन्त्रालयमा पत्रकारलाई प्रवेश गर्न नदिनु गल्ती थियो। नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की विभिन्न भाषामा गीत, भिडियो आदि बनाएर सूसुचित गराउनुपर्नेमा सरकारले गल्ती गरेको बताउँछन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।