काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले अहिलेसम्म नेपालसँग कुनै पनि स्थानमा सीमा विवाद नरहेको बताएको छ । दूवावासले बिहीबार प्रेस विज्ञप्ति जारी गरी सन् १९६० मै नेपाल र चीनबीच सीमा विवाद निरुपण भइसकेको भन्दै दुई मुलुकबीच कुनै सीमा विवाद नभएको जनाएको छ । “चीन र नेपाल परम्परागत छिमेकी मित्र हुन्, चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तअनुसार नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको दृढतापूर्वक सम्मान गर्दै आएको जनाएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
केही नेपाली संस्थाले चीनले नेपालको सीमा अतिक्रमण गरेको, नेपालमाथि प्रतिबन्ध लगाएको, चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई चीन फर्कन नदिएको र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विरोध प्रदर्शन गरेको भन्ने समाचार आएपछि दूतावासले सोसम्बन्धमा स्पष्ट पार्दै विज्ञप्ति जारी गरेको हो । दूतावासले नेपाल सरकारले टोली पठाएर स्थलगत अनुसन्धानसमेत गरिसकेको उल्लेख गरेको छ ।
दुई मुलुकका विदेश मामिलासँग सबन्धित अधिकारीबीच सीमासम्बन्धी विषयमा राम्रो सम्पर्कमा रहेको उल्लेख गर्दै दूतावासले व्यक्तिगत आधारमा फैल्याइएको गलत रिपोर्टबाट नेपाली जनता भ्रममा पर्ने छैनन् भन्ने आशा गरेको जनाएको छ ।











