१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै
अ अ+ अ-

अमरगढी । यहाँको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो ।

उत्खननका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको थियो । सो बजेटको सहयोगमा पुरातत्व विभागको टोलीले २३ दिनदेखि उत्खनन गरिरहेको छ ।

अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भाष्कर ज्ञवालीले बताउनुभयो । पहिलो पटक उत्खनन गरी अध्ययन, अनुसन्धान सुरु गरिएको यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र रहेको उहाँले बताउनुभयो ।

अधिकृत ज्ञवालीका अनुसार उत्खननका क्रममा भग्नावशेषको ‘नम्बरिङ’ गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदी पूर्वका देवल भन्दा फरक छ ।”

उत्खनन्मा प्राप्त विवरण अनुसार बिचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन । अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासस्वरूप पुरातत्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अजयमेरुकोट जस्ता ऐतिहासिक तथा पर्यटकीयस्थलको संरक्षण र प्रवर्द्धनमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार यस्ता कार्यक्रममा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

अजयमेरु कोट संरक्षणको महत्व अझ बढ्दै गएकाले स्थानीय तहले सङ्घ र प्रदेश सरकारबाट थप बजेट तथा आवश्यक सहयोग माग गरेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताउनुभयो ।

अजयमेरुकोटको स्थापना १३औँ शताब्दीको उत्तराद्र्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयदेव पालले सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोट स्थापना गरेको किम्बदन्ती छ ।

एकथरिले यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको पनि भन्ने गरेका छन् । यद्यपि प्रमाणहरुले यो कोट कत्युरी वंशजका पाल राजाले निर्माण गरेको पुष्टि भएका छन् । रैका राजवंशका नागी मल्लले विसं १४४१ मा अजयमेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटका रूपमा चिनिएको बताइन्छ । यस ठाउँमा राजा निरयपालदेवका ताम्रपत्र र विसं १४१९ सम्मका शिलालेखहरू पाइन्छन् ।

अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन् । हाल अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउलाको भग्नावशेष मात्र छन् । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुङ्गे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ ।

अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई गाड (खोला)ले घेरेको छ । तल गाड देखि माथि कोट भएको स्थानमा पुग्न १५–२० मिनेट उकालो उक्लनुपर्छ । कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रूपमा देखिन्छन् ।

दरबारको संरचना सबै भत्केको अवस्थामा छ । बन्ने बेलामा मुख्य दरबार सात तलाको थियो भनिन्छ । सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो ।

यही छेउतिर राजाका घोडा बाँध्ने स्थान छ । यसलाई स्थानीयवासी ‘घोलिडाँस’ (घोडाको तबेला)भन्ने गर्छन् । दरबारस्थलको पूर्व–दक्षिणबाट तल गाड (खोला)भएको स्थान सम्म रानीले पानी भर्न र नुहाउन जाने जमिन भित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोट देखि गाडसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन सुरुङ छन् ।

कोट स्थलदेखि गाडको किनारमा दरबारका मान्छेको बैठक स्थल छ । यसलाई स्थानीयवासी ‘ओखडेकी माँडौ’ भन्छन् । गाडको केहीमाथि दुईवटा देवल छन् यसै करपुटार खेतको सिरानमा पानी खाने तीन वटा प्राचीन नाउला छन् । यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनका लागि प्रसिद्ध छ ।