काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) अन्तरगत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जित निकालेको छ ।
भर्खर सम्पन्न खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्सलाई ४५ रनले हराएको हो ।
सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमात्र बनाउन सक्यो ।
उसका लागि बिबेक यादवले सर्वाधिक अविजित ७७ रन बनाए । उनले बिस्फोटक इनिङ खेलेपनि टोलिको हार टार्न सकेनन् । यादवले ७ छ्क्का ३ चौका हिर्काए ।
यस्तै सन्दीप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका ब्रेन्डन म्याकमुलेन र सैफ जइबले तीन(तीन तथा स्कट कुगलेजिनले दुई तथा अविनाश बोहराले एक विकेट लिए ।
त्यसअघि किर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन जोड्यो । उसका लागि सैफ जइबले बिस्फोटक पारी खेले । उनले ६१ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ९० रन बनाए ।
यस्तै, ब्रेन्डन म्याकमुलेनले २३, बिनोद भण्डारीले १७, दिपेन्द्र सिंह ऐरीले अविजित ३९ तथा स्कट कुगलेजिनले ११ रन जोडे ।
बलिङतर्फ लुम्बिनीका रेमोन सिमोन्ड्सले २ तथा रोहित पौडेलले र बिबेक यादवले १-१ विकेट लिए ।
योसँगै सुदूरपश्चिम लगातार तीन खेलमा जित निकाल्न सफल भएको छ भने लुम्बिनीले लगातार तीन खेलमा हार बेहोरेको छ ।










