६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलिक तीज गीतलाई स्रोता–दर्शकको साथ



अ+ अ-

गण्डकी: लोकप्रिय गायिका विष्णु माझीको मौलिक तीज गीत ‘आइन आमा यो तीजमा…’ यसवर्ष युट्युबमा सबैभन्दा बढी हेरिएको/सुनिएको तीज गीतमा पर्न सफल भएको छ । युट्युबमा सार्वजनिक भएको नौ दिनमा उक्त गीतको म्यूजिक भिडियोलाई एक करोडभन्दा बढी पटक हेरिएको छ ।

‘सपना म्यूजिक इन्ड्रष्टिज’ युट्युब च्यानलबाट यही भदौ ८ गते गीत सार्वजनिक गरिएको थियो । तीज पर्वको छेकोमा सार्वजनिक भएको उक्त गीतमाथि झण्डै २५ हजारले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज गीतका नाममा विकृतियुक्त गीत मौलाइरहेका बेला गायिका माझीको उक्त मौलिक शैलीको तीज गीतले चर्चा पाएको हो । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीतलाई धेरैले रुचाएका हुन् ।

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भएको थियो । यस वर्ष दर्जन बढी त्यस प्रकृतिका गीत विवादमा मुछिएका छन् । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपर्ने स्थिति सिर्जना भयो । ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसङ्गीत प्रेमीले विरोधसमेत जनाए । केही रेडियोकर्मीले आफ्ना कार्यक्रममा त्यस्ता गीत नबजाउने घोषणासमेत गरे ।

बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीत सङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जक/कलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ । पहिलेका तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदिलाई मुखरित गर्ने गरेकामा अहिलेका तीज गीत भड्किला बन्दै गएकामा लोकसङ्गीत प्रेमीहरु चिन्तित छन् ।

गायिका माझीद्वारा स्वरबद्ध उक्त तीज गीतमा सुन्दरमणि अधिकारीले शब्द र सङ्गीत दिनुभएको छ। गीतको म्यूजिक भिडियोमा कलाकार ललिता पौडेललगायतको अभिनय र नृत्य रहेको छ । तीजमा माइत जान नपाएकी चेलीको मनोभावनालाई गीतले उठान गरेको छ । गायिका माझीले तीन वर्षअघि ल्याएको तीज गीत ‘चरी जेलैमा…’ पनि त्यो बेला चर्चित बनेको थियो । उक्त गीतलाई हालसम्म युट्युबमा पाँच करोड बढी पटक सुनिएको÷हेरिएको छ ।रासस