१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल

विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु

विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु
अ अ+ अ-

काठमाडौँ । मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रुपमा क्षति पुगेको छ । ११ घरमा आंशिक क्षति भएको छ ।

पहिराका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिराले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पहिराले ४३ घर पूर्ण रुपमा क्षति भएको छ । २४ घरमा आंशिक क्षति पुगेको छ । १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन् । ११ घर पूर्ण रुपमा र छ घर आंशिक रुपमा क्षतिग्रस्त छन् ।

बाढी र पहिराले हालसम्म आठ करोड छ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङ्बाट १९ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । “बाढी, पहिरो, डुबान, चट्याङजस्ता मनसुनजन्य घटना अझै बढ्दो क्रममा छ, क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेका छौँ”, प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भन्नुभयो, “यस वर्ष सरदरभन्दा बढी पानी पर्ने र १८ लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ ।” उहाँका अनुसार यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्मा पर्ने आँकलन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलले सोमबारदेखि मुलुकभर बाढीको जोखिम कम हुने जानकारी दिनुभयो  । “आज दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार कुनै पनि नदी बाढीको खतरा तहमा पुगेको छैन, मुलुकको विभिन्न नौ वटा नदीहरु सतर्कता तहमा छ”, उहाँले भन्नुभयो, “क्रमिक रुपमा नदीमा पानीको प्रवाह घटिरहेको छ, भोलिदेखि बाढीको खतरा तत्कालका लागि टर्नेछ ।”

गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक सातामा मुलुकको एक सय १० स्थानमा पहिरो गएको छ । बाढी जस्तै पहिराको पूर्वसुचनालाई प्रभावकारी बनाउन आवश्यक रहेको भू–गर्भविद् डा सुवोध ढकालले बताउनुभयो ।

“राजमार्गमा पहिराको सम्भावना बढी हुने भएकाले यात्रा गर्दा विशेष ध्यान दिऊ । जमिन चिरा देखिएमा तत्काल खाँदेर पुर्ने र पानी तर्काउने काम गरौँ, नसकेमा सुरक्षित स्थानमा बस्ने, जथाभावी भल बग्ने गरेको छ भने सामान्य कुलो बनाई पानीलाई एकीकृत गरी तर्काउनुपर्छ”, उहाँले भन्नुभयो, “तपाईं बस्ने स्थानमा पहिले पहिरो गएको छ भने निरन्तर निगरानी गर्ने, सुरक्षित स्थानमा बस्ने, जमिन अथवा पहरोमा अनौठो किसिमको कटकट आवाज सुनियो भने पहिरोको संकेत हुनसक्ने भएकाले सतर्क रही सूचना दिनुपर्छ ।”

उहाँका अनुसार सुकिसकेका कुवा धारामा एक्कासी पानी आउन थाल्यो वा पानी आउने धारा कुवामा पानी सुक्न थाल्यो भने जमिन हलचलको सङ्केत हुनसक्छ ।

२७ सडकखण्ड अवरुद्ध

ललितपुरस्थित बागमती गाउँपालिकामा गएको पहिराले कान्ति लोकपथ पूर्ण रुपमा अवरोध भएको छ । सङ्खुवासभास्थित मकालु गाउँपालिकामा गएको बाढीले दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सङ्खुवासभाकै भोटखोला गाउँपालिकामा बाढीले कोशी रोजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । सुनसरी बराहक्षेत्र नगरपालिका–१ मा गएको पहिराले चतरा–बराहक्षेत्रको भित्री सडक अवरुद्ध छ ।

रसुवास्थित आमाछोदिङ्गो गाउँपालिका–५ मा गएको पहिराले स्याफ्रुबेसी–थाम्बुचेत सडकखण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । चितवनस्थित इच्छाकामना गाउँपालिका–३ मा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ । मकवानपुरस्थित भीमफेदी गाउँपालिका–४ मा गएको पहिरोले भिमफेदी–काठमाडौँ–हेटौँडा राजमार्ग एकतर्फी सञ्चालन छ । सोही गाउँपालिका–८ को पहिराले कान्ती लोकपथ एकतर्फी सञ्चालन छ । काभ्रेको रोशी गाउँपालिकामा गएको पहिराले बिपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।

मनाङको चामे गाउँपालिकामा गएको बाढीले चामे–बेंसीसहर सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । म्याग्दी बेनी नगरपालिका–४ मा गएको पहिराले बेनी–दरबाङ सडक अवरुद्ध छ भने कुश्मा नगरपालिकामा गएको पहिराले बेनी–जोमसोम सडक अवरुद्ध छ ।

पर्वतको मुलढुङ्गा बेनी सडक र सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालन छ । तनहुँको म्याम्दे गाउँपालिकामा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ । नवलपरासीपूर्वको कालीगण्डकी करिडोर र बागलुङको मध्यपहाडी लोकमार्ग पहिरोकै कारण पूर्ण रुपमा अवरुद्ध छ ।

प्यूठानको स्याउलीवा बाग्दुला र भालुवाङ दाङ प्यूठान सडकखण्ड बाढी, पहिराका कारण अवरुद्ध छ । यसैगरी पाल्पाको सिद्धार्थ राजमार्ग, तम्घास–बुटबल सडक, कालीगण्डकी करिडोर एकतर्फी सञ्चालन भएको छ । गुल्मीको रिडी–बाग्लुङ सडकखण्ड, कालीगण्डकी करिडोर सडक, मदन भण्डारी राजमार्ग र अर्घाखाँचीस्थित गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड, पाल्पा अर्घाखाँची सडकखण्ड पनि अवरुद्ध छ । रोल्पाको सहिद राजमार्ग अवरुद्ध छ । दाङको घोराही–तुल्सीपुर सडकखण्ड एकतर्फी भएको छ ।

कालीकोटको कर्णाली राजमार्ग अवरुद्ध छ । अछामको साँफे–मार्तडी, बैतडीको जयपृथ्वी राजमार्ग र डडेल्धुराको भिमदत्त राजमार्ग पूर्ण रुपमा अवरोध पुगेको छ । बैतडीको बझाङ–खोड्पे बैतडी सडकखण्ड र बाजुराको साँफे मार्तडी सडकखण्ड भने एकतर्फी रुपमा सञ्चालन रहेको नेपाल प्रहरीले जनाएको छ । रासस