१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै

ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै
अ अ+ अ-

ढोरपाटन । कुश्मिसेरा–बरेङ सडकअन्तर्गत पर्छ राङ्खानी गाउँ । यस गाउँमा दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलो उडाउँदै गाडी गुड्थे । दक्षिण बागलुङको मेरुदण्डका रुपमा रहेको यो सडक अहिले कालोपत्र भएको छ । ग्रामीण सडक कालोपत्र भएपछि हिजोआज गाउँमा छुट्टै रौनक छाएको छ ।

स्थानीयको दैनिकीसमेत सहज बन्दै गएको छ । विसं २०६५ देखि ट्रयाक खुलाउन सुरु गरेर विसं २०७० मा बरेङसँग जोडिएको यो सडक तीन खण्डमा स्तरोन्नति र कालोपत्र गर्न थालिएको हो ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरादेखि देवलधारासम्मको पहिलो खण्डको जिम्मा पाएको निर्माण व्यवसायी क्याराभान कन्स्ट्रक्सन लामो समय सम्पर्कविहीन बनेपछि अहिले बल्ल काममा फर्किएको छ । दोस्रो खण्ड राङ्खानी देवलधारादेखि बरेङ गाउँपालिका–१ लिउवासम्मको खण्ड कालोपत्र भइरहेको छ ।

अघिल्लो वर्षदेखि कालोपत्र थालिएको दोस्रो खण्ड यस वर्ष सकिँदैछ । राङ्खानदेखि बरेङसम्मको ११ किलोमिटर सडक पूर्वाधारसहित कालोपत्र गर्नका लागि विसं २०७८ साउनमा दुई वर्षमा कालोपत्र र घुम्ती सडकमा ढलान गर्नेगरी रु ३४ करोड २५ लाख ३६ हजारमा रौताहखानी/धुलिखेल जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।

गत वर्ष सात किमी सडक कालोपत्र र ढलान गरिसकिएको थियो भने यस वर्ष चार किमीको काम हुँदैछ । हालसम्म तीन किमी सडक कालोपत्र भइसकेको र एक किमी सडकमा काम गर्न बाँकी रहेको छ । उक्त सडक एक महिनामै सकिने पूर्वधार विकास कार्यालयका इञ्जिनियर प्रकाश श्रीसले बताउनुभयो ।

बरेङ–१ लिउवादेखि अर्को खण्डका लागि नयाँ ठेक्का खुलाइएको उहाँको भनाइ छ । लिउवादेखि बरेङ बजारसम्मको सात किमी सडक कालोपत्रका लागि रु २० करोडको ठेक्का आह्वान गरिएको इञ्जिनियर श्रीसले जानकारी दिनुभयो ।

इञ्जिनियर श्रीसले भन्नुभयो, “राङ्खानी क्षेत्रमा कालोपत्र भइसकेको छ, अघिल्लो र यो वर्ष गरी ११ किमी सडक कालोपत्र भएको छ, यो दोस्रो खण्ड हो, पहिलो खण्डमा लामो समय काम भएको थिएन, अहिले निर्माण कम्पनी काममा फर्किएको छ, तेस्रो खण्ड सात किमी पर्छ, त्यसका लागि नयाँ ठेक्का खोलिएर मूल्याङ्कनको चरणमा छौँ, केही समयमै तेस्रो खण्डको पनि काम सुरु हुनेछ, राङ्खानी खण्डको एक किमी बाँकी छ, अहिले धमाधम काम भइरहेको हुँदा एक महिनामै सकिन्छ ।”

बर्खाको समय राङ्खानी र बरेङ पुग्नका लागि निकै समस्या थियो । गाउँको सडक कालोपत्र भएपछि स्थानीयमा खुसी छाएको छ । सडक कालोपत्र भएपछि पालिकाको केन्द्र कुश्मिसेरासहित, बागलुङ, पोखरालगायका स्थानमा पुग्न सहज भएको जैमिनी–१० राङ्खानीका दलबहादुर श्रीसले बताउनुभयो ।

यो सडक खुलेको दशक बढी हुँदा बल्ल कालोपत्र भएको भन्दै पक्की सडकले गाउँलेको जनजीवन फेरिने उहाँले बताउनुभयो । सडक कच्ची हुँदा यात्रा र सामान ढुवानीमा निकै समस्या भएको स्मरण गर्दै अहिले घरै अगाडिको सडक कालोपत्र हुँदा विकासको अनुभूति भएको उहाँको भनाइ छ । सडक कालोपत्र भएपछि बजार जानआउन पनि चाँडो भएको श्रीसले बताउनुभयो ।

“कच्ची सडकमा गाडी दगुर्दा धुलो सबै घरभित्रै आउँथ्यो, बजार झर्न पर्‍यो भने गाडीले झ्याक्दा शरीर दुख्ने समस्या, भाडा बढी तिर्नुपर्ने अवस्था थियो, अहिले सडक कालोपत्र भएपछि यात्रा गर्न निकै सहज भएको छ”, श्रीसले भन्नुभयो, “पहिले घण्टौँ लगाएर पुग्ने ठाउँमा अहिले एकै छिनमा पुग्न सकिन्छ, गाउँमा विस्तारै विकास आउँदै छ, आजभन्दा १०/१५ वर्ष अगाडि विकट जस्तै थियो यो ठाउँ अहिले हेर्दाहेर्दै सुगम बन्न थाल्यो, माथिपट्टीको सडक कालोपत्र भइसक्यो, तलतिरको अझै भएको छैन, सरोकारवाला निकायले कडाइ गरे त्यो खण्ड पनि चाँडै कालोपत्र हुने थियो ।”

जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले गाउँमा पुगेको कालोपत्र सडकले स्थानीयलाई आयआर्जनसँग जोड्ने बताउनुभयो । यो सडकले जैमिनीको राङ्खानीलगायत अन्य गाउँलाई जोडेको हुँदा अब यहाँ उत्पादन हुने वस्तु सहजरुपमा बजार पुर्‍याउन सकिने उहाँको भनाइ छ । सडकको ट्रयाक खुलाउँदा यस क्षेत्रका नागरिकले ठूलो योगदान पुर्‍याएको भन्दै अब यातायातमा समस्या भोग्नु नपर्ने उपप्रमुख शर्मा बताउनुहुन्छ । पहिलो खण्डमा पनि निर्माण कम्पनी काममा फर्किएको हुँदा नगरपालिकाले समयमै काम सक्नका लागि ताकेता गरिरहेको उहाँको भनाइ छ ।

उपप्रमुख शर्माले भन्नुभयो, “गाउँमा विकास पुग्दैछ, यो सडक निर्माण भएको लामो समयपछि कालोपत्र भयो, अझै केही खण्डमा कालोपत्र गर्न बाँकी छ, अब गाउँबाट आउने गाडी रित्तो आउने छैनन्, गाउँमा उत्पादन भएका हरेक वस्तु बजारमा पुग्नेछन्, नागरिक उत्पादनसँग जोडिने छन्, त्यसका लागि नगरपालिकाले पनि सहजीकरण गर्नेछ, यात्रा गर्न निकै कठिन थियो, अहिले ११ किमी सडक कालोपत्र भयो, बाँकी अन्य खण्डको पनि काम सकियो भने बरेङदेखि बागलुङसम्म नै पक्की सडक बन्नेछ ।” रासस