म्याड्रिड । मंगलबार स्पेनी ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई २–० ले हराएर शीर्ष स्थानको एटलेटिको म्याड्रिडसँगको दूरी छोट्याएको छ । डिफेन्डिङ च्याम्पियन रियल चोट र प्रतिबन्धका कारण आफ्ना सुरुआती नौ खेलाडीविना मैदानमा उत्रेको थियो ।
टोलीका लागि करिम बेन्जेमाले पहिलो गोल गरेपछि फेरलान्ड मेन्डीले दोस्रो गोल थपे । यससँगै रियलले छिमेकी एट्लेटिकोसँगको दूरी पाँच अंकमा छोट्याएको छ । तर एट्लेटिकोले दुई खेल कम खेलेको छ ।
लिग तालिकामा एट्लेटिकोको २० खेलबाट ५१ अंक छ भने रियलको ४६ अंक छ । बार्सिलोना थप तीन अंकको दूरीसहित तेस्रो स्थानमा रहेको छ ।










