काठमाडौं । जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै जोशीले नेपालको हित र समृद्धिका लागि आफ्नो अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने बताउनुभयो । संयुक्त राष्ट्रसंघमा करिब २१ वर्ष काम गरेको अनुभवलाई कूटनीतिक क्षेत्रमा प्रयोग गर्दै नेपालको छवि सुधार र आर्थिक उन्नतिमा योगदान पुर्याउने उहाँको भनाइ छ ।
जोशीले आर्थिक कूटनीति, पर्यटन प्रवर्द्धन र वैदेशिक रोजगारीको व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ । नेपाल र जर्मनीबीचको कन्सुलर सेवा तथा श्रम सम्झौतालाई प्रभावकारी बनाउँदै दक्ष जनशक्ति पठाउने र नेपालमा जनशक्ति अभाव सम्बोधन गर्न सरकारी निकाय तथा निजी क्षेत्रसँग समन्वय गरी कार्ययोजना बनाउने उहाँले बताउनुभयो ।
‘कूटनीति भनेको केवल प्राविधिक विषय होइन, यो अवसर खोज्ने माध्यम पनि हो,’ जोशीले भन्नुभयो, ‘फिलिपिन्सबाट सिकेको अनुभवअनुसार म साना–साना अवसरहरूलाई पनि सदुपयोग गर्दै दुवै मुलुकको हित हुने गरी परिणाममा लैजान केन्द्रित हुनेछु ।’
उहाँले युक्रेनमा रहेका नेपाली नागरिक तथा युद्धबन्दीका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । साथै, नेपालको जडीबुटीजन्य उत्पादन जर्मनीमा निर्यात गर्न प्रयोगशाला परीक्षण र प्रमाणीकरणको व्यवस्था आवश्यक रहेको औँल्याउनुभयो ।
जर्मनीमा रहेको नेपाली डायस्पोराको सीप, अनुभव र सञ्जाललाई नेपालको विकासमा जोड्ने योजना पनि उहाँले प्रस्तुत गर्नुभयो । राष्ट्रसंघीय निकायमा काम गरेको अनुभवले स्वार्थको द्वन्द्व नहुने दाबी गर्दै उहाँले आफूले कुनै गैरसरकारी संस्थामा काम नगरेको स्पष्ट पार्नुभयो ।
– न्युज एजेन्सी नेपाल








