काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीसँग स्पष्ट कार्ययोजना माग गर्नुभएको छ ।
मंगलवार संसदीय सुनुवाइ समितिको बैठकमा जोशीको कार्ययोजना र क्षमतामाथि प्रश्न उठाउँदै पुनले उहाँको लामो अनुभव र विज्ञताको प्रशंसा गर्नुभयो । अभियन्ताका रूपमा काम गर्दै आउनुभएकी जोशी अब कूटनीतिक प्रतिनिधिको भूमिकामा रहेकाले आफ्नो विज्ञतालाई व्यवहारमा उतार्नुपर्ने उहाँको भनाइ थियो ।
पुनले विदेशमा रहेका नेपालीले आर्थिक कारोबार गर्न पाए पनि मतदानको अधिकार प्रयोग गर्न नसकेको अवस्थाप्रति ध्यानाकर्षण गराउनुभयो । प्रवासी नेपालीको मताधिकार कार्यान्वयनका लागि आवश्यक आर्थिक, प्राविधिक र प्रशासनिक तयारीबारे प्रश्न गर्दै आगामी निर्वाचनमै यो व्यवस्था लागू गर्न सकिने सम्भावनाबारे स्पष्ट पार्न उहाँले आग्रह गर्नुभयो ।
आर्थिक कूटनीतितर्फ जोड दिँदै पुनले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहेकाले वैदेशिक सहायताभन्दा लगानी आकर्षित गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । जर्मनीसँगको सहकार्यमा नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग तथा लगानी विस्तार गर्न उहाँले सुझाव दिनुभयो ।
त्यस्तै, बोनस्थित नेपाली राजदूतावासको जग्गा तथा सम्पत्तिको उचित व्यवस्थापन र बिक्रीसम्बन्धी समस्या समाधान गर्न पनि पुनले ध्यानाकर्षण गराउनुभयो ।
श्रम आप्रवासनको विषयमा पुनले विशेषगरी महिला श्रमिकको सुरक्षा, गन्तव्य मुलुकमा हुने शोषण न्यूनीकरण र सुरक्षित तथा सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्ने योजनाबारे प्रश्न गर्नुभयो । रोमानियाका लागि श्रम स्वीकृति लिएर अन्य युरोपेली मुलुकमा जाने नेपालीको संख्या बढिरहेको उल्लेख गर्दै सरकारी तथ्यांक र वास्तविक अवस्थाबीचको अन्तर कूटनीतिक माध्यमबाट कसरी समाधान गर्ने भन्ने विषयमा स्पष्ट योजना माग गर्नुभयो ।
पुनले जोशीलाई विगतमा प्रवासी नेपालीको मताधिकारका लागि वकालत गरेको अनुभव स्मरण गराउँदै त्यसलाई नीतिगत तथा व्यावहारिक रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले कूटनीतिक नियोगको नेतृत्व गर्दा विज्ञतालाई व्यवहारमा उतार्नु चुनौतीपूर्ण हुने भए पनि जोशीको पृष्ठभूमि र अनुभवले जिम्मेवारी निर्वाह गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।








