काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना तीव्र गतिमा अघि बढिरहेको छ। बडादशैँलाई ध्यानमा राख्दै निर्वाचन समितिले मतगणनालाई छिटो सम्पन्न गर्न आज पनि २५ वटा टोली परिचालन गरेको जनाएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार विभिन्न पद र क्लस्टरको मतगणना एकैसाथ अघि बढाइएको छ। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा व्यवस्थित र मर्यादित रूपमा भइरहेको उनले जानकारी दिए।
उनका अनुसार दुई क्लस्टरको मतगणना सकिएको छ भने चार क्लस्टरको गणना जारी छ। बाँकी छ क्लस्टरको मतगणना सुरु गर्ने तयारी भइरहेको छ।
निर्वाचन समितिका अनुसार जनसम्पर्कतर्फ दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। त्यसैगरी, पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना पनि सकिएको छ।
हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेशबाट खुला, महिला तथा ३५ वर्षमुनिका केन्द्रीय सदस्य र ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मतगणना पनि जारी रहेको छ।
निर्वाचन समितिले बाँकी क्लस्टरको मतगणना पनि क्रमशः सुरु गर्ने तयारी गरेको छ। धेरैको चासो रहेको खुलातर्फका ४५ जना केन्द्रीय सदस्यको मतगणना पनि थाल्ने तयारी भइरहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ।
यसैगरी, दलिततर्फको सहमहामन्त्री तथा खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य, अल्पसंख्यक तथा अपाङ्गतातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, मधेसीतर्फको सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य, खस–आर्यतर्फको सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य र पेशागततर्फका खुला तथा महिला केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्ने तयारी भइरहेको छ।
एकैपटक २५ वटा टोली परिचालन गरिएकाले मतगणनाले गति लिएको निर्वाचन समितिको भनाइ छ। समितिले बुधबारसम्म सबै पदको मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणना अघि बढाएको जनाएको छ।
मतगणना स्थल सानेपामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको छ। सबै पदको मतगणना सम्पन्न भएपछि कांग्रेसले नयाँ केन्द्रीय नेतृत्व प्राप्त गर्नेछ।








