२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो
अ अ+ अ-

काठमाडाैँ । चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउने चटारो छ ।

रातो टीका, जमरा र आफन्तसँगको खुसी साटासाट गर्ने पर्खाइमा धेरैजसो मानिस किनमेल र घर सिँगार्न व्यस्त छन् । तर यहाँका किसानलाई भने खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिन्छ कि दिन्न भन्ने पिरले गाँजेको नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापाले बताउनुभयो ।

“असारे हिलोमा बगाएको पसिना यतिबेला खेतभरि पहेँलपुर झुलेको छ, त्यसैले दसैँको टीका थाप्नेभन्दा पनि खेतको धान थन्क्याउने हतारो छ”, थापाले भन्नुभयो, “यदि अहिल्यै धान भित्र्याउन सकिएन भने ठूलो क्षति हुन्छ, त्यसैले हाम्रा लागि यतिबेला दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोले छोएको छ ।”

गत असारमा लगाइएको धान पाकेर यतिबेला खेतमा झुलेको छ । अब वर्षा भए धान बालीमा ठूलो क्षति हुने भएकाले किसानलाई अहिले दसैँ मनाउनभन्दा पनि धान भित्र्याउन भ्याइनभ्याइ भएको उहाँ बताउनुहुन्छ । गत हप्ता नै ठूलो वर्षा भएकाले धान भित्र्याउन नसकिएको जनाउँदै थापा केही दिन पानी नपरेकाले खेताला लगाएर धान काट्ने र भित्र्याउन काममा लागेको जानकारी दिनुभयो ।

विगतका वर्षमा प्रायः दसैँ सकिएपछि मात्र धान भित्र्याउने समय आउँथ्यो । तर, यसपालि दसैँ केही ढिला परेकाले धान पाक्ने र दसैँ मनाउने समय एकैपटक जुध्न पुगेको छ । गाउँघरमा दसैँको उल्लासभन्दा पनि यस वर्ष खेतबारीको कामको हतारो बढी देखिएको राप्ती सोनारी–५ का किसान अशोक वलीले बताउनुभयो ।

“अहिले त धान काट्ने बेलामै ठूलो वर्षा भयो । केही दिनदेखि पानी रोकिएकाले धेरै किसान धान काट्न र भित्र्याउनमै व्यस्त छौँ”, वलीले भन्नुभयो, “एकातर्फ धान भित्र्याउनु छ, अर्कातर्फ बारीमा गहुँ छर्ने समय भइसकेको छ । एकैपटक धेरै काम थपिएकाले यसपालिको दसैँ अघिल्ला वर्षजस्तो फुर्सदिलो र रमाइलो हुने छाँट छैन ।”

केही दिनअघि नै धान काट्ने तयारी गरे पनि वर्षाका कारण रोकिएकाले अहिले किसान अर्मपर्म गरी धान भित्र्याउन व्यस्त रहेको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले
बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष समयमै मनसुन सुरु भएकाले बाँकेमा धानको उत्पादन राम्रो भएको छ । खेतभरि झुलेका बालाले राम्रो भण्डारणको सङ्केत गरे पनि अनपेक्षित वर्षाको जोखिम भने अझै टरेको छैन ।

“आकाशमा अलिकतिमात्रै बादल मडारिँदा पनि किसानको धड्कन बढ्ने गर्छ । मिहिनेतअनुसार धान राम्रो त भएको छ, तर समयमै घर भित्र्याउन नसके असिनापानीले नोक्सान पुर्याउन सक्छ”, चौधरीले भन्नुभयो, “बाँकेका किसान यतिबेला दसैँको रमझमभन्दा माथि उठेर धान भित्र्याउन लागेका छन्, किसानलाई धानखेती सुरक्षित घर भित्र्याउन पाउनु नै यसपालिको सबैभन्दा ठूलो दसैँ र खुसी हुनेछ ।”

कृषि ज्ञान केन्द्र बाँके सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पाकेर स्याहार्ने बेला पानी पर्ने डरले यतिबेला किसान धमाधम धान भित्र्याउन लागेको बताउनुभयो ।

जिल्लामा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।