१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा

एकल महिला भन्छन्: रोजगारीका अवसर खै ?

एकल महिला भन्छन्: रोजगारीका अवसर खै ?
अ अ+ अ-

टीकापुर । कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमान्को गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दु:खदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उहाँको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो । श्रीमान् बितेपछि साहुनीले बालबच्चाको भोक मेटाउन नसकेर दुई छोराछोरी अनाथाश्रममा राख्नुभएको छ । एक छोरी आफूसँग छिन् । उनलाई खर्च जुटाउन निकै समस्या भएको छ ।

“मेरो शारीरिक अवस्था कमजोर छ, दिनभरि कडा श्रम गर्नुपर्ने काम गर्न सक्दिनँ, अरु कमाउने कोही छैन”, साहुनीले भन्नुभयो, “बच्चा पाल्न सकिनँ, दुई बच्चा अनाथाश्रममा राखेकी छु । एउटा छोरी साथमा छिन्, उनलाई पनि शिक्षादीक्षा दिन समस्या भएको छ । घरमा खानेकुरा छैन ।”

कौशिल्ला कामीका श्रीमान्समेत बितेपछि उहाँलाई समस्या छ । सत्तरी वर्षकी कौशिल्लाको स्वास्थ्य पनि राम्रो छैन । उहाँलाई पनि कठिनाइ भएको छ । “केही काम गर्न सक्दिनँ, घरमा छोरी छन्, छोरीले पकाएर दिए खान पाउँछु”, उहाँले भन्नुभयो, “रोगले सताएको छ । उपचारमा धेरै रकम खर्च हुन्छ, कुन दिन भोकै मर्नुपर्छ भन्ने पिरले सताउने गरेको छ ।” एकल महिलामा पनि ज्येष्ठ एकल महिलालाई घरव्यवहार चलाउन, खर्च जोहो गर्न र बालबालिकाका आवश्यकता पूरा गर्न कठिनाइ हुने गरेको छ ।

बाटु कामी पनि शारीरिकरूपमा अशक्त हुँदै जानुभएको छ । उहाँलाई पनि सामाजिक सुरक्षा भत्ताले मात्र खर्च धान्न नपुग्दा समस्या भइरहेको छ । उहाँ सरकारले नि:शुल्क उपचार गरिदिएको भए हुन्थ्यो भन्नुहुन्छ । “सामाजिक सुरक्षा भत्ता पाउँछु, एक किस्तामा रु आठ हजार पाइन्छ, महिनामा रु दुई हजारसम्मको औषधि खान्छु, त्यो रकमले पुग्दैन”, उहाँ भन्नुहुन्छ, “ममात्र होइन, मजस्ता एकल महिलाका समस्या थुप्रै छन् । श्रीमान्को मृत्युपछि बेरोजगार रहेका सबै महिलालाई घर चलाउन आर्थिक कठिनाइले सताएको छ ।”

छपन्न वर्षीया सरस्वती ओड पनि एकल महिलाका थुप्रै समस्या रहेका बताउनुहुन्छ । सामाजिक सुरक्षा भत्ताको रकमले घर खर्च चलाउन निकै कठिन रहेको, रोजगारी केही नभएकाले समस्या भइरहेको ओड बताउनुहुन्छ । “हामी केही काम पाएको भए गर्न सक्थ्यौँ, सरकारले रोजगारीका अवसर दिएको भए हाम्रो जीवन सहज हुने थियो”, ओड भन्नुहुन्छ, “हामी जवान छौँ, हामीलाई प्रधानमन्त्री रोजगारजस्ता कार्यक्रममा रोजगारीका अवसर स्थानीय सरकारले दिनुपर्छ । अन्य सीपमूलक तालिम, अनुदानजस्ता सहयोग गरेर हाम्रो जीवन सहज बनाइदिनुपर्छ ।”

देवी परियारका पनि साना बालबच्चा छन् । उहाँ खाउलाउ भन्ने उमेरमा श्रीमान् गुमाएका महिलालाई आर्थिक समस्याले झेलेकाले सरकारले रोजगारीका अवसर सिर्जना गरिदिएको भए हुन्थ्यो भन्नुहुन्छ । “जग्गाजमिन भएको भए खेतीपाती गर्ने थियौँ, हामीलाई बालबच्चा पाल्न गाह्रो हुन थाल्यो”, देवीले भन्नुभयो, “हामी रोजगारी पाए जुनसुकै काम पनि गर्न सक्छौँ, हामीलाई सरकारले उत्पादनमूलक रोजगारीका अवसर देओस् ।”

ज्येष्ठ एकल महिला विजा कामीका श्रीमान् बिल्नुभयो । श्रीमान् बितेको केही समयपछि छोरा पनि बितेपछि तीन टुहुरा नातिनातिनी पालेर बस्नुभएको छ । उहाँलाई बालबच्चालाई खुवाउन, पालनपोषण गर्न कठिन भएको छ । “श्रीमान् र छोरा कमाउने उमेरका मानिस रहेनन्, साना तीन नातिनातिनी मैले स्याहार्नुपरेको छ”, उहाँले भन्नुभयो, “बच्चा भोकभोकै छन्, कहिलेकाहीँ राति उठेर रुन्छन्, मैले कसरी सम्हाल्नु । उनीहरूलाई के खुवाएर पेट भरौँ ?”

टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला छ सय २६ रहेका छन् । विधवा महिला एक हजार पाँच सय ७० छन् । महिला बालबालिका शाखा संयोजक सङ्गीता शाहले नगरपालिकाले एकल महिलाको सशक्तीकरणका क्षेत्रमा पालिकाले तालिम, गोष्ठी, बाख्रा, बङ्गुर वितरणजस्ता कार्य गर्दै आएको बताउनुभयो । “एकल महिलाका समस्या धेरै छन्, त्यसैलाई ध्यान दिएर हामीले हरेक कार्यक्रम गर्दा एकल महिलालाई प्राथमिकता दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “पालिकाले वडास्तरमा बाख्रा वितरण, बङ्गुर वितरणजस्ता कार्यसमेत गर्दै आएका छन् ।” रासस